राप्ती यातायात पूर्ण अटोमेशनमा, कुनैपनि गन्तव्यका टिकट अनलाइनबाट काट्न सकिने

  • Technology Khabar | २५ भाद्र २०७६, बुधबार

काठमाडौं ।

काठमाडौं । राप्ती अञ्चलको सबैभन्दा पुरानो यातायात संस्था त्रिदेश्वरी राप्ती यातायात सेवा प्रा.लि. पूर्णरूपमा अटोमेशनमा गएको छ ।

पछिल्लो समय प्रविधिको प्रयोग तिब्र रूपमा बढिरहेको बेला यातायात क्षेत्रमा पनि प्रविधिको प्रयोग गरेर यात्रुलाई सहज र स्तरिय सेवा दिनको लागि अटोमेशनमा गएको संस्थाका अध्यक्ष सुरेश हमालले बताए ।

अटोमेशनमा गएसँगै अब राप्ती यातायातका कुनै पनि स्थानमा यात्रा गर्न अनलाइनबाट टिकट काट्न सकिनेछ । पूर्ण रूपमा कम्प्युटराइज प्रणालीमा रूपान्तरण गरिएसँगै अबदेखि संस्थाको कार्यलय सञ्चालन, चलानी, अभिलेखन लगायतका सबै कार्यहरू सफ्टवेयरमार्फत नियन्त्रण हुनेछन् । कम्पनीले बससेवा डटकमसँगको सहकार्यमा संस्थालाई पूर्ण अटोमेशनमा लगेको जानकारी दिएको छ ।

अबदेखि यात्रुहरूले राप्ती यातायातका एसी, डिलक्स् तथा मिनिबसको टिकट अनलाईन मार्फत काट्न सकिनेछ । यात्रुहरूले राप्ती यातायातको राप्ती यातायात डटकम डट एनपी, बससेवा डटकम, बससेवाको मोबाईल एप्लीकेशन तथा इसेवा डटकम डट एनपीमार्फत अनलाइन टिकट काट्न सकिनेछ ।

यात्रुहरूले आउँदै गरेको दशैं तिहारमा समेत आफु जाने कुनैपनि गन्तव्यमा सहजै टिकट काट्न सक्ने कम्पनीले जानकारी दिएको छ ।

२०३७ सालमा अनौपचारिक रुपमा राप्ती अञ्चल बस तथा मिनीबस समिति नामबाट सुरू भएको यातायात सेवा २०४१ सालबाट राप्ती अंचल सार्वजनिक यातायात व्यवसायी समितिका रूपमा सञ्चालनमा थियो । हाल संस्था कम्पनीका रूपमा दर्ता भइ त्रिदेश्वरी राप्ती यातायात सेवा प्रा.लिका रूपमा सेवा गर्दै आएको छ ।

कम्पनीले लामो तथा छोटो दुरीमा राप्ती अंचल भित्र दाङ, सल्यान, प्यूठान, रुकुम, रोल्पा र राप्ती अंचल बाहिर काठमाण्डौ लगायत पोखरा, विरगंज, काँंकडभित्ता, विराटनगर, नारायणगढ, बुटवल, पाल्पा, कृष्णनगर, भैरहवा, नेपालगंज, सुर्खेत, राजापुर, धनगढी, महेन्द्रनगरका विभिन्न स्थानहरु सम्म करिब १०० वटा रुटहरुमा आफ्नो यातायात सेवा संचालन गरिरहेको जनाएको छ ।

प्रकाशित: २५ भाद्र २०७६, बुधबार

तपाइको प्रतिक्रिया

ताजा समाचार