Technology Khabar ९ भाद्र २०७६, सोमबार
काठमाडौं ।
काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले मोबाइल फोन सेवाग्राहीहरुलाई आफ्नो नामको सिम मात्र प्रयोग गर्न अनुरोध गरेकोछ ।
प्राधिकरणले आज सार्वजनिक सूचना प्रकाशित गर्दै आफ्नो नामको मात्र मोबाइल सिम प्रयोग गर्न भनेको हो ।
नेपाल सरकारले विद्युतिय प्रविधिमार्फत सरकारी सेवा प्रदान गर्ने उद्धेश्यले ल्याउन लागेको नागरीक एप्स तयार भईसकेको र लागू गर्न गईरहेको छ । सो एप्सलाई प्रयोगकर्ताको मोबाइल नम्बरसँग जोड्न लागिएको हुँदा मोबाइल सेवाग्राहीहरुलाई आफ्नो नाममा मात्र रहेको मोबाइल सिम प्रयोग गर्न अनुरोध गरेको हो ।
यदि अन्य कसैको नामको सिम प्रयोग गरिरहेको भएपनि सो सिमलाई आफ्नो नाममा दर्ता गरेर प्रयोग गर्न सकिने उल्लेख गरेको छ ।
नागरीक एप्सलाई मोबाइल प्रयोगकर्ताहरुको मोबाइल नम्बर नै सरकारी नागरीक एप्ससँग सिधै लिंक गराउने तयारी सरकारले गरेको छ । सो एप्समार्फत सरकारले आफूले दिने विभिन्न सुविधाहरु सिधै सेवाग्राहीलाई उपलब्ध गराउने र सहजता प्रदान गर्ने उद्धेश्य लिएको छ ।
दूरसंचार प्राधिकरणका प्रवक्ता मिन प्रसाद अर्यालले नागरीक एप्समा व्यक्तिको पहिचानको लागि मोबाइल सिम प्रयोग हुने हुँदा आफ्नो नामको सिम मात्र चलाउन अनुरोध गरेको बताए।
‘सरकारले ल्याउन लागेको नागरीक एप्समा मोबाइल नम्बर नै पहिचानको लागि प्रयोग हुने र अर्काको नामको सिम प्रयोग गरेर फ्रड हुने सक्छ,’ उनले भने ।
सेवा प्रवाहलाई सहज बनाउन आफ्नो नामको मोबाइल सिम मात्र प्रयोग गर्न भनिएको उनले बताए ।
प्रकाशित: ९ भाद्र २०७६, सोमबार