दूरसंचार प्राधिकरणले दिएको म्याद भित्र बाँकी बक्यौता रकम तिरेन् नेपाल स्याटेलाइट टेलिकमले

  • Technology Khabar | १ भाद्र २०७६, आईतवार
दूरसंचार प्राधिकरणले दिएको म्याद भित्र बाँकी बक्यौता रकम तिरेन् नेपाल स्याटेलाइट टेलिकमले

काठमाडौं ।

काठमाडौं । बाँकी बक्यौता रकम तिर्न १५ दिने म्याद पाएको नेपाल स्याटेलाइट टेलिकम प्रालिले आफूले पाएको समयवधि भित्र पनि रकम तिरेन् ।

नेपाल दूरसंचार प्राधिकरणले नेपाल स्याटेलाइटलाई बाँकी बक्यौता रकम तिर्न १५ दिने समयावधि तोकेर म्याद दिएको थियो । सो म्यादको आइतवार भदौ १ गते अन्तिम मितिभित्र पनि बाँकी बक्यौता रकम नतिरेको प्राधिकरणले जानकारी दिएको छ ।

अन्तिम दिनसम्म नेपाल स्याटेलाइटले रकम तिरेको जानकारीमा नभएको प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले बताए ।

‘आज कार्यालय समयभित्र सम्म नेपाल स्याटेलाइटले रकम तिरेको मेरो जानकारीमा छैन् । रकम तिरेको भए यसबारेमा भोली(सोमबार) कार्यालय खुलेपछि मात्र थाहा हुन्छ,’ अध्यक्ष खनालले टेक्नोलोजीखबरसँग भने ।

उनकाअनुसार कम्पनीले अन्तिम मितिभित्र बाँकी बक्यौता तिरेर भोलीपल्ट पनि जानकारी दिनसक्दछ । तर रकम दाखिला गरेको समयावधि भने तोकिएको मितिभित्रै हुनुपर्नेछ ।

यसअघि नेपाल स्याटेलाइटले दूरसंचार प्राधिकरणलाई पत्र पठाउँदै थप करिब १० दिनको समय माग गरेको थियो । तर सो पत्रको जवाफ पठाउँदै प्राधिकरणले बोर्ड निर्णयभन्दा बाहिर गएर थप समय दिन नसकिने स्पष्ट पारेको थियो ।

‘यदि थप समय चाहिएको भए कम्पनी हाम्रो निर्णयमा पुनरावेदनमा जान सक्छ, त्यसको लागि ३५ दिने म्याद हुन्छ, तर अब हामी पछाडि हट्दैनौं,’ अध्यक्ष खनालले भने ।

त्यस्तै प्राधिकरणका एक अधिकारीले भने कम्पनीले कुनैपनि रकम अहिले नतिर्ने जानकारी दिएको बताए ।

‘कम्पनीले रकम नै नतिर्ने भनेर जानकारी दिएको थियो, कम्पनीका लगानीकर्ताहरु बाहिर भएको हुँदा रकम तिर्न नसकिने त्यहाँका कर्मचारीले बताएका थिए,’ ती अधिकारीले भने ।

नेपाल स्याटेलाइटले यसअघि सोधिएको स्पष्टिकरण पत्रमा पनि आफूले ७ दिनभित्र ७ करोड रुपैयाँ बुझाउने र बाँकी रकम किस्ताबन्दी सुविधा दिन माग गरेको थियो । तर नेपाल स्याटेलाइटको सो अनुरोध प्राधिकरणले अस्विकार गर्दै १५ दिनभित्र कबोल गरेको रकम तिर्न र बाँकी सम्पूर्ण रकम ३ महिना भित्र तिर्नुपर्ने निर्णय गरेको थियो ।

यसअघि पनि प्राधिकरणको बाँकी बक्यौता नतिर्ने कम्पनीहरुको लाइसेन्स खारेज गर्ने निर्णयअनुसार आईटेल र वेब सर्फरको लाइसेन्स खारेज भएको छ ।

सो लाइसेन्स खारेजको विरुद्धमा कम्पनीहरुले सरकारसमक्ष पुनरावेदन गर्न ३५ दिने कानुनत म्याद हुने गर्दछ ।

प्राधिकरणकाअनुसार नेपाल स्याटेलाइटले करिब ८० करोड रुपैयाँ बाँकी बक्यौता बापतको रकम बुझाउनुपर्ने देखिन्छ ।

यो पनि हेर्नुस्-

लाइसेन्स खारेज हुनबाट बच्यो स्मार्ट टेलिकम, प्राधिकरणलाई बुझायो बाँकी बक्यौताको ३० करोड रुपैयाँ

प्रकाशित: १ भाद्र २०७६, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...