भीभोले अहिलेसम्मकै सबैभन्दा सस्तो फाइभजी स्मार्टफोन ल्याउँदै, यस्तो छ अन्य विशेषताहरु

Technology Khabar १ भाद्र २०७६, आईतवार

काठमाडौं ।

काठमाडौं । भीभोले आफ्नो नयाँ सब ब्राण्ड आईक्यूअन्तरगत ल्याउन लागेको नयाँ फोनको बारेमा जानकारीहरु दिईरहेको छ । यहाँ कम्पनीले आईक्यू प्रो ५जी स्मार्टफोन यहि अगस्ट २२ तारिखमा लन्च गर्ने तयारी गरेको छ ।

यो स्मार्टफोन ५जी टेक्नोलोजी भएको स्मार्टफोन हो । अहिलेको अवस्थामा ५जीको प्रयोग र बिस्तार शुरुवाती अवस्थामा नै छ भने ५जी स्मार्टफोन पनि सिमित मात्रामा र निकै महंगो मूल्यमा उपलब्ध छन् । फाइभजी डिभाइसहरु अहिले ४जी फ्ल्यागशिप डिभाइसहरु भन्दा पनि महंगो रहेका छन् ।

हालसम्म सामसंग, ह्वावे र वनप्लसले मात्र बजारमा फाइभजी स्मार्टफोन ल्याएका छन् । जसमा कम्पनीहरुले आफ्नो प्रिमियम फ्ल्यागशिप स्मार्टफोनको ५जी भर्सन मात्र रिलिज गरेका छन् । यी प्रिमियम फोनहरु त्यसैले पनि महंगो रहेका छन् ।

तर भीभोले भने सर्वसाधारणलाई पनि ५जी फोनको अनुभव प्रदान गर्नेगरि आफ्नो नयाँ स्मार्टफोन आईक्यू प्रो ५जीलाई अहिलेसम्मकै सबैभन्दा सस्तो स्मार्टफोनको रुपमा ल्याउने तयारी गरेको छ ।

चीनबाट आएका जानकारीहरुअनुसार यो स्मार्टफोन बजारमा सबैभन्दा सस्तो स्मार्टफोन हुने आईक्यूका भाइस प्रेसिडेन्ट फेंग यूफेईले वेबो पोस्टमा जानकारी दिएका छन् ।

यसैगरि यो फोन मिड रेन्जमा आउनेछ भने यो चीन भन्दा बाहिरको बजारमा पनि उपलब्ध हुने बताईएको छ ।

अहिलेको सन्दर्भमा फाइभजी विश्वभर स्वीकार गर्ने अवस्था आईसकेको छैन् । यसको नेटवर्क बिस्तार हुँदैछ भने यी डिभाइसहरु पनि निकै महंगा छन् । तर यो अवस्था परिवर्तन गर्ने संकेत भीभोले दिएको छ ।

हाल नेपालमा भीभोले ५जी स्मार्टफोन लन्च गर्नेपनि त्यति उत्साहित हुनुपर्ने अवस्था छैन् । किनकी नेपालमा अहिले त फोरजी भीओएलटिई नै बिस्तारको क्रममा छ । मोबाइल अपरेटरहरु ४जी बिस्तारको अवस्थामा हुँदा ५जी नेपालमा आउन अझै केहि वर्ष कुर्नुपर्ने हुन्छ ।

नेपाल टेलिकमले आफ्नो फोरजी बिस्तारको क्रम सकिएपछि काठमाडौं र बिराटनगरमा फाइभजी परिक्षणको रुपमा ल्याउने योजना सार्वजनिक गरेको थियो । तर त्यसको लागि पनि अझै केहि वर्ष कुर्नुपर्ने अवस्था देखिएको छ ।

भीभोको आईक्यू प्रो ५जीको कुरागर्दा यसमा ६.४१ इन्चको एमोलेड स्क्रीन राखिनेछ जसमा वाटरड्रप नोच डिजाइन हुनेछ । यसमा स्न्यापड्रागन ८५५ प्लस चीपसेटका साथमा १२ जीबीको र्याम र ५१२ जीबीको स्टोरेज हुनेछ ।

फोटोग्राफीका लागि यसमा ४८ प्लस १३ प्लस १२ प्लस मेगापिक्सेलको ट्रिपल रियर क्यामरा हुनेछ । त्यस्तै १२ मेगापिक्सेलको सेल्फी स्न्यापर हुनेछ । पावरका लागि यसमा ४४ वाटको फास्ट चार्जिंगका साथमा ४,४१० एमएएच ब्याट्री प्याक हुनेछ । भीभोको ५जी फोन एन्ड्रोयड ९ पाईमा आधारित फनटच ९मा संचालन हुनेछ ।

प्रकाशित: १ भाद्र २०७६, आईतवार

तपाइको प्रतिक्रिया