Technology Khabar ३२ श्रावण २०७६, शनिबार
काठमाडौं ।
काठमाडौं । टेक कम्पनी गूगलले गरेको नयाँ अध्ययन अनुसार अझैपनि मानिसहरु इन्टरनेटमा असुरक्षित पासवर्डहरु प्रयोग गर्ने गर्दछन् ।
गूगलकाअनुसार पुरै इन्टरनेटमा करिब १.५ प्रतिशत साइन इन गरिने पासवर्डहरु पहिले नै ह्याक गरिएका हुने गरेको भेटिएको छ ।
गूगलले यो वर्ष मात्रै पासवर्ड चेकअप एक्सटेन्सन आफ्नो क्रोम वेब ब्राउजरमा सार्वजनिक गरेको थियो । जसले यूजर्सको लग इन डिटेलहरु अनलाइनमा चेक गरेर यसअघि नै चोरी भएको वा दूरुपयोग भए नभएको जानकारी दिने गर्दछ ।
तर हालै गरेको गूगलको नयाँ अनुसन्धानले भने करिब १.५ प्रतिशत यूजर्सको लगइन असुरक्षित भएको भेटेको हो । कम्पनीले नयाँ एक्सटेन्सन आएको १ महिनामा गरेको अनुसन्धानले करिब ३ लाख १६ जना यूजर्स अर्थात १.५ प्रतिशतको लगइन डाटा असुरक्षित भेटिएको हो । सो अनुसन्धानमा करिब २१ लाख यूजर्सलाई सामेल गरिएको थियो ।
कम्पनीकाअनुसार डाटा ब्रिचको चेतावनीपछि २६ प्रतिशत यूजर्सले आफ्नो पासवर्ड परिवर्तन गरेका थिए जसमध्ये करिब ९४ प्रतिशत मात्र ससक्त किसिमका पासवर्डहरु छन् । तर केहि यूजरले भने सो चेतावनीलाई मानेनन् ।
तर यो संख्या अझ बढ्न सक्ने अनुमान गरिएको छ । किनकी अझै लाखौं यूजर्सले सो एक्सटेन्सन इन्स्टल गरेका छैनन् । गूगलको सो एक्सटेन्सन स्ट्याण्डफोर्ड यूनिभर्सिटी एकेडिमिक्सको सहयोगमा बनाईएको हो ।
पासवर्ड चेकअप एक्सटेन्सनले यूजर्सलाई उनीहरुले साइन इन गर्न लागेका कुनैपनि वेबसाइटमा जाँदा सूचित गर्दै ४ करोड भन्दा बढि यूजरनेम र पासवर्डहरु तेस्रो पक्षले गरेको डाटा ब्रिचमा रहेको हुँदा असुरक्षित भएको जानकारी दिन्छ ।
यस्तो डाटा अनुसन्धान गर्दा गूगलले यूजर्सको कुनैपनि जानकारी तथा डाटा स्टोर नगरिने समेत स्पष्ट पारेको छ ।
गूगलले गरेको अध्ययनमा यूजर्सलाई फरक फरक वेबसाइटहरुका लागि एकै किसिमको पासवर्ड प्रयोग नगर्न सुझाव दिएको छ । यस्तो अवस्थामा यूजर्सको जानकारी चोरी हुने खतरा अधिक हुने गर्दछ ।
यूजर्सहरुले आफूले सम्झिने किसिमको पासवर्डहरु राख्न चाहन्छ र हरेक वेबसाइट वा लग इनको लागि एकै प्रकारको पासवर्ड प्रयोग गर्ने गर्दछन् । त्यसैले यदि एउटा कुनै प्लेटफर्मबाट डाटा चोरी भएमा यूजर्सको सबै प्लेटफर्मका एकाउन्ट ह्याक हुने संभावना अधिक हुन्छ ।
गूगलले पासवर्ड चेकअप टूलको उद्धेश्य भनेको यूजर्सलाई साधारण पासवर्डको साटो सुरक्षित र कठिन किसिमका पासवर्ड प्रयोग गर्न प्रेरित गर्नुरहेको छ । जसले गर्दा डाटा चोरीको जोखिम घटाउन सकिन्छ । यसबाहेक पासवर्डमा स्पेशल क्यारेक्टरहरु समेत प्रयोग गर्न गूगलले सुझाव दिएको छ ।
यसअघि यो वर्षको खराब पासवर्डको पहिलो नम्बरमा १२३४५६७८ रहेको थियो । एजेन्सी
प्रकाशित: ३२ श्रावण २०७६, शनिबार