Technology Khabar ३० श्रावण २०७६, बिहीबार
काठमाडौं ।
काठमाडौं । विश्वभर नयाँ आउने मुख्य प्रविधिहरुको लागि लामो अनुसन्धान र विकास गर्ने गरिन्छ र त्यसपछि मात्र त्यसलाई बजारमा ल्याउने गरिन्छ । हाल विश्वभर नयाँ पुस्ताको ५जी टेक्नोलोजी भर्खर शुरुवात भईरहेको छ । तर कम्पनीहरुले भने त्यो भन्दा अगाडिको बारेमा सोच्न थालेका छन् ।
हालै ह्वावेले क्यानाडाको ओटावामा रहेको ल्याबमा सिक्सजी नेटवर्क टेक्नोलोजीको बारेमा अनुसन्धान तथा विकास गर्न शुरु गरेको रिपोर्ट आएको छ । हाल सिक्सजी स्ट्याण्डर्डका लागि कुनैपनि स्तर तोकिएको छैन् । यसका अतिरिक्त मुख्य कम्पनीहरुले अनुसन्धान गरिरहेको सिक्सजी संभवत हाल सैद्धान्तिक चरणमा मात्र रहेका छन् ।
ह्वावेको ओटावामा रहेको ल्याब एडभान्स आर एण्ड डि सेन्टरको रुपमा मानिन्छ । हाल कम्पनीले विश्वभर सबैभन्दा धेरै ५जी नेटवर्क परियोजनामा काम गरिरहेको छ । कम्पनीले विभिन्न १३ वटा विश्वविद्यालयहरु तथा अन्य अनुसन्धान संस्थाहरुसँग नयाँ प्रविधिहरु विकास गर्न काम गरिरहेको छ ।
ह्वावेका संस्थापक रेन झेनफेईकाअनुसार कम्पनीले क्यानाडामा मात्र कम्तीमा अबौं रुपैयाँ लगानी गरिरहेको छ ।
ह्वावेको प्रारम्भिक सिक्सजी प्लानअनुसार सन् २०३० भन्दा अगाडि साँच्चिकै ६जी देखिने छैन् । यसअघि ह्वावेले सन् २००९ मा ५जी टेक्नोलोजी र स्ट्याण्डर्ड विकास गर्नका लागि मात्र तत्कालिन समयमा ६०० मिलियन डलर लगानी गरेको थियो । त्यसपछि कम्पनीले सन् २०१५ मा थप १.४ बिलियन डलर खर्च गरेको थियो ।
यसअघि अर्को टेक कम्पनी सामसंगले आफ्नो कोरियाको सिओलमा रहेको नयाँ ल्याबमा सिक्सजीको अनुसन्धान शुरु गरेको रिपोर्ट आएको थियो । यसबाहेक नोकिया, एरिक्सन र एसके टेलीकोमले संयुक्तरुपमा सिक्सजी प्रविधि विकासको लागि रणनीतिक सहकार्यको घोषणा गरेका थिए । एजेन्सी
प्रकाशित: ३० श्रावण २०७६, बिहीबार