
काठमाडौं ।
काठमाडौं । नेपालका विद्यालयहरुमा सरकारले नेपाल दूरसंचार प्राधिकरण मार्फत आईटि ल्याब बनाउने तयारी गरिरहेको छ । छनौट भएका सरकारी तथा सामुदायिक विद्यालयहरुमा आईटि र कम्प्यूटर प्रविधिलाई बढावा दिँदै डिजिटल नेपाल बनाउने अभियानअन्तगत काम भईरहेको छ ।
नेपालमा विद्यालयमा नै स्थाई कम्प्यूटर ल्याब बनाउने तयारी भईरहँदा छिमेकी मुलुकमा भने मोबाइल कम्प्यूटर ल्याबको अवधारणा अगाडि आएको छ ।
भारतको राजस्थानको नागौर जिल्लामा एउटा कम्प्यूटर ल्याब भएको बस निर्माण गरिएको छ । सो बसको माध्यमबाट १०० सरकारी विद्यालयहरुका करिब ६ हजार बालबालिकालाई कम्प्यूटर, गणित र अंग्रेजी विषयको पढाई गराउने योजना लिईएको छ ।
राजस्थानको सूरजमल तापडिया मेमोरियल ट्रस्ट र सुप्रीम फाउण्डेशनले संयुक्तरुपमा एउटा कम्प्यूटर ल्याब मोबाइल बस सेवा शुरु गरेका छन् । जसमा कम्प्यूटर र अत्याधुनिक उपकरणहरु जडान गरिएको छ ।
सूरजमल तापडिया संस्कृत महाविद्यालयका सचिव जुगल किशोर वियानीले भने, ‘बसमा ती सरकारी विद्यालयहरुमा पुग्नेछन जहाँ ११ र १२ कक्षामा अंग्रेजी, विज्ञान र कम्प्यूटर जस्ता विषयहरु अध्ययन गर्ने विद्यार्थीहरुको लागि ल्याबको ब्यवस्था छैन् ।’
उनले यो राजस्थानको पहिलो आधुनिक ल्याब बस भएको उल्लेख गरे ।
लाडनूं ईलाकामा १९२ वटा सरकारी विद्यालयहरु छन र १०० विद्यालयहरुमा कम्प्यूटर ल्याब र अन्य आधुनिक उपकरणहरु नभएको रिपोर्टमा उल्लेख छ । यस्तोमा सो ल्याबयुक्त बस हरेक दिन तीन विद्यालयहरुसम्म पुग्नेछ ।
संस्कृत महाविद्यालयका सचिव वियानीकाअनुसार यदि यो प्रयोग सफल भएमा ल्याबयुक्त बसहरुको संख्या बढाईने छ ।
महाविद्यालयका प्राचार्य डा हेमन्त कृष्ण मिश्रकाअनुसार सो अत्याधुनिक ल्याबयुक्त बस करिब ४५ लाख भारतीय रुपैयाँमा तयार गरिएको हो । बसमा एउटा एयर कण्डिसनर र २१ वटा कम्प्यूटर राखिएको छ । यस बसमा एक साथ २१ जना विद्यार्थिहरुलाई पढाउन सकिने बताईएको छ । जसको लागि हरेक विषयको तीन जना शिक्षक पनि राखिएका छन् । एजेन्सीका साथमा
प्रकाशित: २४ श्रावण २०७६, शुक्रबार