
काठमाडौं ।
अनुज राज ।
काठमाडौं । सरकारको स्वामित्वमा रहेको नेपाल दूरसंचार कम्पनी (नेपाल टेलिकम) ले पछिल्लो ६ महिनामा आफ्ना जीएसएम मोबाइल सेवाका ग्राहकहरुको संख्या उल्लेख्य रुपमा बढाउन सफल भएको छ ।
कम्पनीसँग गत वर्ष २०७५ पुष महिनामा मोबाइल सेवा ग्राहकहरु जम्मा १ करोड ८८ लाख ६५ हजार ४ सय ३३ भएकोमा ६ महिनाको अवधिमा सो संख्यामा वृद्धि गर्दै जेठ मसान्तसम्म २ करोड भन्दा बढि सेवाग्राही पुर्याएको छ ।
हाल २ करोड भन्दा बढि देखिएपनि सक्रिय मोबाइल प्रयोगकर्ताहरुको संख्या भने त्यसको आधा भन्दा पनि न्यून
नेपाल दूरसंचार प्राधिकरणले प्रकाशित गर्ने मासिक एमआईएस डाटाअनुसार नेपाल टेलिकमले गएको ६ महिनामा करिब साढे ११ लाख सेवाग्राही जोड्न सफल भएको हो । प्राधिकरणको तथ्यांकअनुसार जेठमा कुल २ करोड १० हजार ७६७ मोबाइल सेवाका ग्राहकहरु बनाएको छ, जसमा गत ६ महिनाभित्र मात्रै टेलिकमले ११ लाख ४५ हजार ३३४ जना सेवाग्राही थप गरेको हो ।
प्राधिकरणको तथ्यांकअनुसार नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताको संख्या हाल २ करोड भन्दा बढि देखिएपनि सक्रिय मोबाइल प्रयोगकर्ताहरुको संख्या भने त्यसको आधा भन्दा पनि न्यून छ ।
टेक्नोलोजीखबरलाई प्राप्त सक्रिय मोबाइल सेवाग्राहीहरुको तथ्यांकअनुसार नेपाल टेलिकमका सक्रिय मोबाइल सेवा प्रयोगकर्ताहरुको संख्या ८३ लाख ८७ हजार ४५ जना मात्र रहेको छ । यो संख्यालाई कुल मोबाइल सेवाग्राही र सक्रिय सेवाग्राहीहरुको तुलना गरेर प्रतिशतको आधारमा हेर्ने हो यो ४१.९१ प्रतिशत मात्र हुन आउँछ ।
प्राधिकरणको तथ्यांकअनुसार नेपाल टेलिकमको बजार हिस्सा सबैभन्दा धेरै देखिन्छ । टेलिकमले कुल बजारको ५५ प्रतिशत हिस्सा ओगटेको छ जसमा तारसहितको फोन सेवा, सिडिएमए फोन सबैलाई जोडेर राखिएको छ । यो बजार हिस्सा गएको ६ महिनाको तुलनामा हेर्ने हो भने टेलिकमले २ प्रतिशत बजार हिस्सा बढाउन सफल भएको देखिन्छ । जसमध्ये अधिकांश जीएसएम मोबाइल सेवाग्राहीको संख्या बढेर भएको हो ।
सक्रिय मोबाइल सेवाग्राहीहरुको संख्यामा समग्रमा ४ लाख ५ हजार १५२ जना ग्राहकहरुको संख्या थप । अधिकांश प्रयोगकर्ताहरु भने थ्रीजी प्रयोगकर्ताहरु
कुल बजार हिस्सा टेलिकमले बढाएपनि तर यसको सक्रिय सेवाग्राहीहरुको संख्या भने त्यो भन्दा निकै कम रहेको देखिन्छ ।
अर्कोतर्फ सक्रिय सेवाग्राहीको तुलनामा हेर्दा विगत ६ महिनामा भने टेलिकमले आफ्ना सेवाग्राहीहरुको संख्यामा वृद्धि गरेको देखिन्छ ।
टेक्नोलोजीखबरलाई प्राप्त तथ्यांकअनुसार टेलिकमका सक्रिय मोबाइल सेवाग्राहीहरु गएको पुस मसान्तसम्म ७९ लाख ८१ हजार ८९२ जना थिए भने यो वर्षको जेठ मसान्तसम्ममा टेलिकमका सक्रिय सेवाग्राहीहरुको संख्या बढेर ८३ लाख ८७ हजार ४५ पुगेको छ ।
विगत ६ महिनामा नेपाल टेलिकमले आफ्ना सक्रिय मोबाइल सेवाग्राहीहरुको संख्यामा समग्रमा ४ लाख ५ हजार १५२ जना ग्राहकहरुको संख्या थप गरेको छ ।
टेलिकमले मोबाइल सेवाग्राहकको संख्यामा वृद्धि गर्दै गएपनि कम्पनीका अधिकांश प्रयोगकर्ताहरु भने थ्रीजी प्रयोगकर्ताहरु रहेकाछन् ।
प्राधिकरणद्धारा प्रकाशित जेठको तथ्यांक हेर्दा थ्रीजी प्रयोगकर्ताहरु ७० लाख ९२ हजार ८५४ जना छन भने फोरजी सेवाग्राहीहरु ७ लाख ८१ हजार ७७७ जना रहेका छन् । यसअघि गएको २०७५ पुस महिनामा थ्रीजी प्रयोगकर्ताहरु ५९ लाख ४५ हजार २६ जना छन भने फोरजी सेवाग्राहीहरु भने केबल ६ लाख ९५ हजार ६ सय ३० जना थिए ।
कम्पनीले सेवाग्राहीहरुको संख्या वृद्धि गर्नुमा पछिल्ला महिनाहरुमा टेलिकमले आफ्नो फोरजी सेवाको बिस्तारका लागि टावर राखेसँगै सेवा बिस्तार पनि गरिरहेको छ भने कम्पनीले ग्राहकहरुलाई आकर्षित गर्न विभिन्न किसिमका प्याकेज अफरहरुको सकारात्मक प्रभाव परेको अनुमान गरिएको छ ।
दूरसंचार प्राधिकरणले टेलिकम अपरेटरहरुले बेचेको सिमकार्डको आधारमा तथ्यांक संकलन गर्दै एमआईएस रिपोर्ट प्रकाशित गर्ने गर्दछ तर सक्रिय सेवाग्राहीहरु जसलाई भीएलआर(भिजिटर लोकेसन रजिस्टर)Visitor Location Register (VLR) भनेर चिनिन्छ । सक्रिय सेवाग्राही भन्नाले नेटवर्कमा सक्रिय रहेका मोबाइल सीम कार्ड भनेर बुझिन्छ ।
प्रकाशित: १५ श्रावण २०७६, बुधबार