काठमाडौं ।
काठमाडौं । बिगत केहि दिनदेखि फेसएप नामक मोबाइल एप निकै चर्चामा रहेको छ । मानिसलाई फोटोको आधारमा आर्टिफिसियल इन्टेलिजेन्स प्रविधिद्धारा बुढो तथा युवा देखाउन सकिने सो एप अहिले निकै भाइरल भएको छ ।
विश्वभर चर्चामा रहेको सो एपले मानिसहरुको प्राइभेसी हनन् गरेको आरोप लागिरहेको छ भने प्रयोगकर्ताको स्मार्टफोनमा अनधिकृत पहुँच पाएको आरोप पनि लागेकोछ ।
सोहि फेसएपले प्रयोग गर्ने प्रविधि जस्तै आर्टिफिसियल इन्टेलिजेन्स प्रविधि प्रयोग गरेर १८ वर्ष अगाडि अपहरणमा परेको एक बालकलाई चीनको प्रहरीले पत्ता लगाएको छ । सो बच्चालाई खोज्नका लागि फेसएप टेक्नोलोजीको प्रयोग गरिएको थियो ।
आर्टिफिसियल इन्टेलिजेन्स प्रविधिमार्फत चिनियाँ अधिकारीहरुले हाल २१ वर्ष पुगेका ती युवकलाई खोजेका हुन् । चीनको उत्तर गुवाङ्गदोंग प्रान्तमा बस्ने यु वेईफेंग नामक युवकलाई चिनियाँ प्रहरीले चिनियाँ टेक तथा इन्टरनेट सर्भिस प्रदायक कम्पनी टेनसेन्टले विकास गरेको आर्टिफिसियल इन्टेलिजेन्स प्रविधिको सहयोगमा प्रहरीले शुरुवातमा अनुमान गरेर हराएका युवकलाई भेटेको हो ।
टेनसेन्ट एआई ल्याबले बनाएको फेसियल रिकोग्निसन टेक्नोलोजीमार्फत विभिन्न १०० संभावित मानिसहरुको अनुहारसँग त्यसलाई दाँजिएको थियो । त्यसको आधारमा हाल ग्वांगझाउमा अध्ययनरत ती युवकलाई पत्ता लगाईएको थियो ।
ती युवकले शुरुमा आफू अपहरणमा परेको अस्विकार गरेका थिए तर उनको डिएनए परीक्षणबाट सोहि हराएको बालक भएको पुष्टि भएको थियो । त्यसपछि उनलाई अभिभावकलाई भेटाईएको थियो । तर ती युवकले भने अहिले उनको पालनपोषण गरिरहेका अभिभावकसँग नै बस्न चाहेको बताएका छन् ।
अनुसन्धानकर्ताहरुले भने प्रविधिको विकाससँग अन्य हराईरहेका मानिसहरुको पनि खोजि र अनुसन्धान भईरहेको जनाएका छन् । एजेन्सी
प्रकाशित: ५ श्रावण २०७६, आईतवार