Technology Khabar १५ असार २०७६, आईतवार
काठमाडौं ।
काठमाडौं । मोबाइल सेवा प्रदायकहरुको सेवाको स्तर बिराटनगर क्षेत्रमा कमजोर रहेको भेटिएको छ । नेपाल दूरसंचार प्राधिकरणले गत वैशाख र जेठ महिनामा विराटनगरमा गरेको मोबाइल सेवाको गुणस्तर परीक्षणअनुसार नेपाल टेलिकम एनसेल र स्मार्ट टेलिकमका सेवाहरुको गुणस्तर कमजोर भेटिएको हो ।
प्राधिकरणले गरेको फोनकल स्थापना हुन लाग्ने समयको परिक्षणमा तीनवटै कम्पनीहरु असफल भएको देखिएको छ । यस्तो समय अवधि ५ सेकेण्ड वा सो भन्दा कम हुनुपर्नेमा तीनवटै कम्पनीको सो भन्दा धेरै देखिएको हो । यसमध्ये पनि टेलिकमको फोनकल स्थापना हुन लाग्ने समय उच्च देखिएको छ । फोनकल स्थापना हुन लाग्ने समय नेपाल टेलिकमको ८.७९ सेकेण्ड छ भने एनसेलको ६.५२ सेकेण्ड र स्मार्ट टेलिकमको ८.४६ सेकेण्ड रहेको छ ।
त्यस्तै फोनकल स्थापना हुने दर ९९ प्रतिशत वा सो भन्दा धेरै हुनुपर्ने स्तर रहेकोमा एनसेल मात्र त्यसमा उत्तिण भएको छ । नेपाल टेलिकमको ९७.०६ प्रतिशत र स्मार्ट टेलिकमको ९७.८१ प्रतिशत मात्र रहेको देखिएको हो ।
आफै फोनकल विच्छेद हुने दर २ प्रतिशत वा सो भन्दा कम हुनुपर्नेमा एनसेलको स्तर असफल हुँदै २.२२ प्रतिशत रहेको छ । यस्तो दरमा स्मार्ट टेलिकमको शुन्य प्रतिशत छ भने नेपाल टेलिकमको १.५२ प्रतिशत मात्र रेको छ ।
प्राधिकरणले गरेको इन्टरनेट सेवाको परीक्षणमा पनि तीनवटै सेवा प्रदायकको सेवा कमजोर रहेको छ । प्राधिकरणको रिपोर्टअनुसार इन्टरनेटमा पिंग गर्न लाग्ने समय २५० मिलिसेकेण्डा सो भन्दा कम हुनुपर्नेमा तीनवटै मोबाइल सेवा प्रदायकको समय सो भन्दा अधिक रहेको छ ।
पिंग गर्न लाग्ने समय नेपाल टेलिकमको २६५.१२ मिलिसेकेण्ड छ भने एनसेलको ३२६.१२ मिलिसेकेण्ड तथा स्मार्ट टेलिकमको २७७.७५ मिलिसेकेण्ड रहेको छ ।
पिंग सफलताको दरमा भने तीनवटै कम्पनीहरुले करिब करिब शतप्रतिशत दर पाएका छन् ।
नेपाल टेलिकमको इन्टरनेटबाट वेबपेज खुल्न लाग्ने समय निकै ढिलो रहेको देखिएको छ । टेलिकमबाट वेबपेज खोल्न २२.१८ सेकेण्ड छ भने एनसेलबाट १२.६५ सेकेण्ड तथा स्मार्टबाट १५.९९ सेकेण्ड रहेको छ । तर वेबपेज खुल्ने सफलताको दरमा पनि तीनवटै कम्पनीहरुको उच्च प्रतिशत रहेको देखिन्छ ।
तीनवटै सेवा प्रदायकको औसट डाटा डाउनलोड बहाव अर्थात औसत डाटा प्रति एमबिएसको आधारमा हेर्दा टेलिकको ५.२३ एमबिपिएस, एनसेलको ७.३६ एमबिपिएस र स्मार्टको ९.४८ एमबिपिएस रहेको छ । यसमध्ये स्मार्टले ग्राहकहरुलाई सबैभन्दा धेरै एमबिपिएसको डाटा दिईरहेको देखिन्छ ।
डाउनलोड सफलताको दर प्राधिकरणले ८० प्रतिशतभन्दा बढि तोकेकोमा नेपाल टेलिकको ८५.१८, एनसेलको ९०.३८ र स्मार्टको १०० प्रतिशत रहँदै उत्कृष्ट रहेको देखिएको छ । अपलोड तर्फपनि तीनवटै कम्पनीको सेवा उत्कृष्ट रहेको छ । यस्तो दर ७५ प्रतिशत वा सो भन्दा बढि हुनुपर्नेमा नेपाल टेलिकमको ८६.५३ प्रतिशत, एनसेलको ९०.३८ प्रतिशत र स्मार्टको ९८.०३ प्रतिशत रहेको रिपोर्टमा उल्लेख छ ।
बिराटनगरमा गरिएको परीक्षणका लागि प्राधिकरणको टोलीले १३६ वटा कल गरेको थियो भने पिंग प्रयास १८२ पटक गरिएको जनाएको छ ।
प्रकाशित: १५ असार २०७६, आईतवार