दूरसंचार प्राधिकरणको निर्देशन नमान्दा एनसेल कारबाहीमा, ५० हजार रुपैयाँ जरिवाना तिराउने निर्णय

  • Technology Khabar | १३ असार २०७६, शुक्रबार
दूरसंचार प्राधिकरणको निर्देशन नमान्दा एनसेल कारबाहीमा, ५० हजार रुपैयाँ जरिवाना तिराउने निर्णय

काठमाडौं ।

अनुज राज ।

काठमाडौं । मोबाइल सेवा प्रदायक कम्पनी एनसेल प्रालिले निर्देशनअनुसार पल्स दर कायम नगरेको भन्दै कारबाहीमा परेको छ । नेपाल दूरसंचार प्राधिकरणले एनसेल प्रालिलाई तत्कालिन समयमा पल्स दर कायम गर्न दिएको निर्देशन पालना गरेको भन्दै जरिवाना तिराउने भएको हो ।

प्राधिकरण बोर्ड बैठकले एनसेल प्रालिले २०७४ सालमा पल्स दर घटाउन दिएको निर्देशन पालना नगरेको भन्दै कारबाही स्वरुप ५० हजार रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको स्रोतले जानकारी दिएको छ ।

दूरसंचार प्राधिकरणले भ्वाइस सेवा संचालन गर्न अनुमति प्राप्त सबै सेवा प्रदायकहरुलाई २०७४ वैशाख १ गतेदेखि नयाँ पल्स रेट लागू गर्न निर्देशन दिएकोमा एनसेल प्रालिले सो पल्स रेट ढिला लागू गरेको थियो ।

एनसेलले प्राधिकरणको निर्देशनअनुसार वैशाख १ गतेदेखि नयाँ पल्स रेट लागू गर्नुपर्नेमा करिब २० दिनसम्म पुरानै पल्स रेट लागू गरेर प्राधिकरणको निर्देशन अवज्ञा गरेको थियो भने ग्राहकहरुले पनि नयाँ पल्स रेट लागू नहुँदा अतिरिक्त महशुल तिर्नुपरेको थियो ।

एनसेलले सो समयमा वैशाख १ देखि लागू गर्नुपर्ने नयाँ पल्स रेट स्थानीय कलमा वैशाख २१ गतेदेखि तथा अन्तर्राष्ट्रिय कलमा वैशाख २० गतेदेखि मात्र लागू गरेको भेटिएको थियो । सो विषयमा प्राधिकरणले गरेको अनुगमन टोलीले पल्स दर समयमा नै लागू नगरेको भेटिएको रिपोर्ट प्राधिकरणमा बुझाएको थियो ।

नयाँ पल्स रेट लागू गर्न नसक्ने विषयमा एनसेलले प्राधिकरणलाई पूर्व जानकारी नदिएको र कुनै कारण पनि पेश नगरेको बोर्डको भनाई छ ।

प्राधिकरणले दूरसंचार ऐन २०५३ को दफा ४७ (१)बमोजिम एनसेललाई कारबाही गरेको हो । सो दफामा प्राधिकरणको निर्देशन पालना नगर्ने अनुमतिपत्र प्राप्त सेवा प्रदायक कम्पनीलाई ५० हजार रुपैयाँसम्म जरिवाना गर्न सकिने व्यवस्था छ ।

२०७४ सालदेखि प्राधिकरणले पल्स रेटलाई झारेर स्थानीय कलमा १० सेकेण्डको एक पल्स हुने व्यवस्था मिलाएको थियो अन्तर्राष्ट्रिय कलतर्फ २० सेकेण्डको एक पल्स हुने व्यवस्था लागू गरेको थियो । त्यसअघि स्थानीय कलमा २० सेकेण्डको एक पल्स तथा अन्तर्राष्ट्रिय तर्फ ६० सेकेण्डको एक पल्स तोकिएको थियो ।

यस्तो छ दूरसंचार ऐन २०५३ को दफा ४७ मा-

दण्ड सजाय: (१) कुनै व्यक्तिले यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियमको उल्लङ्घन गरेमा वा प्राधिकरणले दिएको आदेश वा निर्देशनको पालना नगरेमा प्राधिकरणले त्यस्तो व्यक्तिलाई पचास हजार रुपैयाँसम्म जरिवाना गर्न सक्नेछ र त्यस्तो कसूरबाट कसैको हानी नोक्सानी भएको रहेछ भने त्यस्तो हानी नोक्सानीको बिगो वा सो बापत क्षतिपूर्ति समेत भराई दिन सक्नेछ ।

प्रकाशित: १३ असार २०७६, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार