ह्वावेको शतप्रतिशत रकम फिर्ता दिने अफरले फिर्ता आउलान त ह्वावेका नेपाली ग्राहक

  • Technology Khabar | ८ असार २०७६, आईतवार
ह्वावेको शतप्रतिशत रकम फिर्ता दिने अफरले फिर्ता आउलान त ह्वावेका नेपाली ग्राहक

काठमाडौं ।

काठमाडौं । ह्वावेका मोबाइल फोनको बजार निकै खस्किएपछि नेपाली आयातकर्ता कम्पनीले ग्राहकहरुका लागि नयाँ अफर ल्याएको छ ।

नेपाली बजारमा ह्वावेको बजार करिब ६० प्रतिशतले घटेपछि ग्राहकहरुलाई पुन ह्वावे मोबाइल किनाउने प्रयास गर्नको लागि ह्वावेको आधिकारिक आयातकर्ता तथा बिक्रेता कल मोबिलिटी प्रालिले १०० प्रतिशत रकम फिर्ता दिने अफर ल्याएको हो ।

कम्पनीले यो बारेमा आफ्ना ग्राहकहरु र च्यानल पार्टनरहरुलाई पनि विभिन्न एप्स नचलेमा शतप्रतिशत रकम फिर्ता गर्ने योजना सार्वजनिक गरेको हो ।

कम्पनीले गूगलका विभिन्न एप्स तथा फेसबुक, ह्वाट्सएप, भाइबरलगायतका एप्स नचलेमा पुरै रकम फिर्ता दिने योजना ल्याएको हो । कम्पनीले विश्वभर आफ्नो बजार गुमाईरहेको र नेपालमा पनि बजार डामाडोल भएपछि ग्राहकहरुलाई ह्वावे फोन किनाउन नयाँ अफर ल्याएको हो ।

योजनाअनुसार गूगलका जीमेल, गूगल प्ले, गूगल म्याप्स, यूट्यूब, क्रोमका साथै फेसबुक, ह्वाट्सएप, भाइबर, इन्टाग्रामलगायतका एप्सहरु पूर्णरुपमा चल्ने भन्दै नचलेमा शतप्रतिशत रकम फिर्ता गर्ने बताएको हो ।

कम्पनीले यो अफर वाई सिरिजका फोनहरु, नोभा सिरिजका फोनहरु, ट्याब सिरिजका फोनहरु, पी सिरिजका फोनहरु, मेट सिरिजका फोनहरुमा दिने उल्लेख गरेको छ ।

तर कम्पनीले फिजिकल ड्यामेज भएको र सफट्वेयर कम्प्रोमाइज गरिएका फोनहरुका लागि भने अफर नहुने बताएको छ ।

कम्पनीले विभिन्न एप्सहरुको एक्सेस गुमाएमा मात्र सो रकम फिर्ता हुने उल्लेख गरेर ग्राहकहरुलाई ह्वावेको मोबाइल खरिदका लागि आकर्षित गर्न खोजेको कल मोबिलिटीका मार्केटिंग म्यानेजर रोशन न्यौपानेले जानकारी दिए ।

‘यो ह्वावेले आफैं गरेको नभई कल मोबिलिटीको तर्फबाट ग्राहकलाई विश्वस्त पार्न खोजेको हो, यस्तो अफर फिलिपिन्समा पनि रहेकोछ, यसले बजारमा आएका र्यूमरहरुलाई रोक्न सहयोग गर्दछ,’ न्यौपानेले टेक्नोलोजी खबरसँग भने ।

न्यूरोडका एक मोबाइल पसलेले भने यो अफर शनिवारदेखि नै आएको र त्यसले ह्वावे फोनको बिक्री बढाएको दाबी गरे ।

तर कम्पनीले नयाँ अफर ल्याएर ग्राहकहरुलाई विश्वस्त पार्न खोजिरहँदा ती स्मार्टफोनमा आगामी दिनमा अपडेट आउँछ की आउँदैन भन्ने कुनै जानकारी दिएको छैन् । एप्सहरुमा हुने नियमित सेक्यूरिटी अपडेट मुख्य विषय हुन्छ किनकी त्यसले एप्समा भएका कमजोरीहरु र विभिन्न बग तथा फ्लोहरुलाई रोक्न सहयोग गर्दछ ।

कम्पनीले १०० प्रतिशत रकम फिर्ता दिने अफर ल्याउँदा त्यसमा हुनुपर्ने सेक्यूरिटी अपडेट भविश्यमा नआएमा के हुने भनेर ग्राहकलाई जानकारी भने दिएको छैन् ।

अमेरिकी प्रशासनको प्रतिबन्धपछि ह्वावेका स्मार्टफोन बजार विश्वभर नै नराम्ररी प्रभावित भएको छ । अमेरिकाले लगाएको प्रतिबन्धपछि विभिन्न अमेरिकी कम्पनीहरुले ह्वावेसँगको आफ्नो व्यवसायीक सम्बन्धलाई रोकिरहेका छन् । जसअन्तरगत गूगलले पनि आफ्नो सेवा ह्वावेसँग आगामी दिनमा रोक्ने बताईसकेको छ जसले गर्दा गूगलको अपरेटिंग सिस्टम एन्ड्रोयड र त्यसमा आधारित एप्सहरु नचल्ने बताएको थियो ।
हाल बजारमा भएका स्मार्टफोन र स्टकमा रहेका स्मार्टफोनमा सो अपडेट आएपनि नयाँ फोनहरुमा भने सो सेक्यूरिटी अपडेट नआउने स्पष्ट पारिसकेको छ । त्यसैगरि फेसबुकले पनि आफ्ना एप्सहरु ह्वावेका फोनमा शुरुवातदेखि अर्थात (प्रिन्स्टल) नै नराखिने बताएको थियो ।

यसबाहेक विभिन्न चीपसेट निर्माता कम्पनीहरु, कम्पोनेन्ट उत्पादक कम्पनीहरुले पनि व्यवसायीक सम्बन्धलाई रोक्ने बताईसकेका छन् ।

कम्पनीका संस्थापक तथा सिईओ रेन झेनफेईले नै विश्वभर ४० प्रतिशत बजार गुमाएको बताईसकेका छन् ।

प्रकाशित: ८ असार २०७६, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...