
काठमाडौं ।
काठमाडौं । नोकिया फोन उत्पादक कम्पनी एचएमडीले प्रयोगकर्ताहरुको डाटा फिनल्याण्डमा रहेको गूगल क्लाउड सर्भरमा राख्ने भएको छ ।
कम्पनीले नोकिया फोनमा उपलब्ध हुने एक्टिभेसन र परफरमेन्स डाटा फिनल्याण्डमा राख्ने भएको हो । यो डाटा जीडिपिआरसहितको यूरोपेली यूनियनको डाटा प्राइभेसी रेगुलेसन्सअन्तरगत सुरक्षित हुने बताईएको छ ।
कम्पनीले आफना डिभाइसबाट आउने डाटाहरुलाई सुरक्षित बनाउन फिनल्याण्डमा डाटा राखिएको बताएको छ । जसअन्तरगत नोकिया ४.२, नोकिया ३.२ र नोकिया २.२ स्मार्टफोनहरुको डाटा पहिलो पटक सो स्थानमा राखिएको छ ।
पुराना फोनहरुको डाटा भने एन्ड्रोयड क्यू अपडेट आएपछि मात्र राखिनेछ, जून यो वर्षको अन्त्यमा रोलआउट हुनेछ ।
फिनल्याण्डको हामिनामा रहेको गूगलको क्लाउड सर्भरहरुमा डाटा संकलन हुनेछ । हालका फोनहरु र आगामी दिनमा डिजाइन गरिने फोनहरुको लागि यूजर एक्सपेरियन्सलाई सुधार गर्नका लागि एचएमडीले सीसीआई नामक कन्सल्टेन्सीसँग पनि सो डाटा विश्लेषण गराउन सहकार्य गरेको छ ।
गूगलको सो डाटा सेन्टरलाई समुन्द्रको पानीद्धारा चीसो पार्ने गरिन्छ र यो पहिलो किसिमको यस्तो डाटा सेन्टर हो ।
प्रकाशित: ४ असार २०७६, बुधबार