
काठमाडौं ।
अनुज राज । काठमाडौं । मोबाइल सेवा प्रदायक कम्पनीहरु नेपाल दूरसंचार कम्पनी लिमिटेड (नेपाल टेलिकम) र एनसेल प्रालिले मोबाइल वित्तीय सेवा संचालनको तयारी गरेका छन् । दुबै कम्पनीहरुले सहायक कम्पनी स्थापना गरी मोबाइल वित्तीय सेवा संचालन गर्नको लागि स्वीकृती पाएसँगै दुबै कम्पनीले भुक्तानी सेवा दिने भएका हुन्।
यसअघि दुबै कम्पनीहरुले नेपाल दूरसंचार प्राधिकरणमा भुक्तानी सेवा प्रदायकको रुपमा सहायक कम्पनी स्थापना गर्न अनुमति माग गर्दै निवेदन दिएकोमा प्राधिकरण बोर्ड बैठकले दुबै कम्पनीको सो निवेदनलाई स्वीकृत गरेको हो ।
दुबै कम्पनीले आफूले छुट्टाछुट्टै सहायक कम्पनी स्थापना गरेर अब मोबाइल वित्तीय सेवा प्रदान गर्नसक्नेछन् । यसको लागि खोलिने सहायक कम्पनीहरुले नेपाल राष्ट्र बैंकबाट पनि सहायक कम्पनी स्थापनाको अनुमतिपत्र लिनुपर्ने प्रावधान छ ।
दूरसंचार प्राधिकरणसँग त्यस्ता कम्पनीहरुलाई नो अब्जेक्सन लेटर दिने वा नदिने अधिकार रहन्छ । यसअघि एनसेलले मोबाइलमार्फत स्वास्थ्य बीमा सेवा दिने योजनाको लागि प्राधिकरणमा स्वीकृतीको लागि आवेदन दिएपनि सो आवेदन स्वीकृत हुन सकेको थिएन् ।
नेपाल टेलिकमका सह प्रवक्ता कृष्ण प्रसाद भण्डारीले सहायक कम्पनीको काम अगाडि बढेको र कम्पनीको प्राविधिक तथा प्रशासनिक काम भईरहेको बताए ।
‘हामीले प्राधिकरणबाट नो अब्जेक्सन लेटर पाईसकेका छौं, त्यसको आधारमा कम्पनी सेटअप हुन्छ अनिमात्र राष्ट्र बैंकबाट लाइसेन्स लिने काम हुन्छ, त्यसमा अझै समय लाग्न सक्छ,’ भण्डारीले टेक्नोलोजी खबरसँग भने ।
नेपाल टेलिकमले यसअघि नै राष्ट्रिय बाणिज्य बैंकसँग मिलेर सो सेवा संचालन गर्न आईसिटी डेको अवसरमा सम्झौतापत्रमा हस्ताक्षर गरिसकेको छ भने एनसेलले भने त्यस्तो सम्झौता गरेको छैन् ।
एनसेलको सहायक कम्पनीको लागि स्वीकृत पाएको भएपनि सो विषय प्रारम्भिक चरणमा नै रहेको कम्पनीसम्बद्ध स्रोतले जानकारी दिएको छ । ‘कम्पनी खोल्न अनुमति पाएपछि मात्र काम अगाडि बढाउने होला, अहिलेसम्म त्यस्तो कुनै चर्चा छैन्,’ स्रोतले भन्यो ।
टेलिकम कम्पनीहरु र वित्तीय सेवा प्रदायक कम्पनीहरुबिच सहकार्य गरेर मोबाइल वित्तीय सेवालाई प्रबद्र्धन गर्ने उद्धेश्यका साथ केहि महिना अघि दूरसंचार प्राधिकरण र राष्ट्र बैंकबिच सम्झौता भएको थियो ।
प्रकाशित: २ असार २०७६, सोमबार