अब स्मार्टफोन एपमार्फत सवारी पार्किङ गर्न सकिने, न्यूरोडमा शुरुभयाे स्मार्ट पार्किङ

Technology Khabar १ असार २०७६, आईतवार

काठमाडौं ।

काठमाडौं । न्यूरोडका २ स्थानमा असार १ गते आइतवारदेखि स्मार्ट पार्किङ शुरु गरिएको छ । सो स्मार्ट पार्किङमा आफ्नो स्मार्टफोनमा उपलब्ध हुने एपबाटै स्थान बुक गर्न रकम तिर्न सकिने लगाउनका सुविधासहित स्मार्ट पार्किङ शुरु भएको हो ।

हाल पहिलो चरणमा न्यूरोडको धर्मपथदेखि इन्द्रचोकको आकाशे मन्दिरसम्म रहेको स्थानमा स्मार्ट पार्किङ सञ्चालनमा ल्याइएको हो । रामेस्वरम, विशाल बजार, खिचापोखरी, धर्मपथ र इन्द्रचोकमा स्मार्ट पार्किङको व्यवस्था मिलाइएको स्मार्ट पार्किङका सञ्चालक कम्पनी ह्विल्स ट्रुलीले जनाएको छ ।

सो क्षेत्रमा सवारीसाधन पार्क गर्नको लागि पार्क केटीएम एपमार्फत बुकिङ गरि पार्किङको सुविधा लिन सकिने जानकारी दिईयो ।

पार्किङ गर्दा २ पांग्रे सवारीले प्रतिघण्टा २५ रुपैयाँ तिर्नुपर्ने छ भने ४ पांग्रे सवारीले प्रतिघण्टा ८० रुपैयाँ तिर्नुपर्ने छ ।

सो क्षेत्रमा पार्किङका लागि बुकिङ १५ मिनेट अघि मात्र गर्न पाइने छ । १५ मिनेटसम्म पनि सवारी पार्किङमा नआए बुकिङ स्वतः रद्द हुनेछ ।

बिहान ९ बजेदेखि राति ९ बजेसम्म १२ घण्टा स्मार्ट पार्किङ सञ्चालन हुनेछ । सेन्सर जडित सो स्मार्ट पार्किङका लागि आइफोन र एन्ड्रोइड मोबाइलमा पार्क केटीएम एप डाउनलोड गरेर पार्किङका लागि बुकिङ गर्न सकिने छ ।

विभिन्न स्थानमा राखिएका स्मार्ट पार्किङमा एकपटकमा करिब ८ सय वटा मोटरसाइकल र ४० वटा गाडी पार्किङ गर्न सकिने जानकारी दिईयो ।

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले औपाचारिक रुपमा स्मार्ट पार्किङको उद्घाटन गरे। मेयर शाक्यले क्रमिक रुपमा स्मार्ट पार्किङलाई विस्तार गर्दै लैजाने बताए । ‘हामीले अहिले न्यूरोडमा मात्र सुरु गरेका छौं, यसको माग अनुसार स्मार्ट पार्किङ विस्तार गर्नेछौँ,’ शाक्यले भने ।

यस्तै उनले पीओएस मेसिनको समेत उद्घाटन गरेका छन् । जसको प्रयोगबाट क्यूआर कोडसहितको रसिद दिने गरिन्छ । सो मेसिनले पार्किङ शुल्क तथा समय प्रिन्ट गर्नेछ । त्यसैअनुसार सेवाग्राहीले भुक्तानी गर्नुपर्ने हुन्छ । बुकिङ गरेको समय, पार्किङ गरिएको स्थान र पार्किङ शुल्कजस्ता विवरण क्युआर कोडबाट बील प्रिन्ट गरि दिइने छ ।

महानगरले न्यूरोडका अन्य स्थान र दरवारमार्गमा समेत स्मार्ट पार्किङ ल्याउने तयारी गरेको छ ।

प्रकाशित: १ असार २०७६, आईतवार

तपाइको प्रतिक्रिया