
काठमाडौं ।
काठमाडौं । के तपाईँ अन्तरिक्षमा जान चाहनुहुन्छ । यदि चाहनुहुन्छ भने अब तपाईँको ईच्छा पुरा हुने भएको छ । तर त्यसको लागि तपाईँले राम्रै मूल्य चुकाउनुपर्ने हुन्छ ।
पर्यटकको रुपमा जान चाहनेहरुका लागि अमेरिकाको अन्तरिक्ष एजेन्सी नासाले अनुमति दिने भएको छ । सो संस्थाले पर्यटकहरुका लागि आगामी वर्षदेखि अन्तर्राष्ट्रिय स्पेस स्टेशनमा जानसक्ने गरि घोषणा गरेको छ । नासाले स्पेस स्टेशनलाई पर्यटन र अन्य व्यवसायीक कार्यहरुको लागि खुला गर्न लागेको बताएको हो ।
अन्तराष्ट्रिय स्पेस स्टेशनका उप निर्देशक रोबिन ग्याट्सले हरेक वर्ष कम अवधिको दुईवटा प्राइभेट अन्तरिक्ष मिशन पठाउने बताए । यस्तो मिशनको खर्च निजी कम्पनीहरुले गर्नेछन् ।
नासाकाअनुसार अन्तर्राष्ट्रिय स्पेस स्टेशन जाने यात्रुले प्रत्येक रातको लागि ३५ हजार अमेरिकी डलर तिर्नुपर्नेछ ।
नासाकाअनुसार प्राइभेट अन्तरिक्ष यात्रिहरुलाई अन्तर्राष्ट्रिय स्पेस स्टेशनसम्म जानको लागि ३० दिनसम्मको समय उपलब्ध हुनेछ र उनीहरुले नासाले कर्मसियल क्रू प्रोग्रामअन्तरगत बनाएको अमेरिकाको स्पेसक्राफ्टबाट यात्रा गर्न सक्नेछन् । यसमा प्रयोग हुने रकेट र क्याप्सुल सिस्टम बोईंग र एलन मक्सको कम्पनी स्पेसएक्सले विकास गरेको थियो ।
अन्तर्राष्ट्रिय स्पेस स्टेशन बाहिरी अन्तरिक्षमा स्थित छ । यसलाई अन्तरिक्षसँग जोडिएका अनुसन्धान गर्नको लागि विकसित गरिएको हो । यो पृथ्वीको निकटवर्ती कक्षमा स्थापित छ ।
नासाकाअनुसार चाँडोमा यस्तो किसिमको पहिलो मिसन सन् २०२० मा हुनेछ ।
यसअघि रसियाको स्पेस एजेन्सीले निजी यात्रुहरुलाई स्टेशनसम्म पुयाईसकेको छ ।
प्रकाशित: २६ जेष्ठ २०७६, आईतवार