नेपाल टेलिकमलाई पहिलो किस्ताको बाँकी रकम तिर्न प्राधिकरणले पठायो पत्र

  • Technology Khabar | २० जेष्ठ २०७६, सोमबार

काठमाडौं ।

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले मोबाइल सेवाको अनुमतिपत्र दोस्रो पटकको नविकरणको लागि किस्तामा रकम तिर्न नेपाल दूरसंचार कम्पनी (नेपाल टेलिकम) लाई पत्र पठाएको छ ।

प्राधिकरणले मन्त्रिपरिषदको निर्णयअनुसार मोबाइल सेवाको दोस्रो अनुमतिपत्र नविकरणका लागि तिर्नुपर्ने २० अर्ब रुपैयाँको पहिलो किस्ता रकम तिर्न भन्दै टेलिकमलाई आईतबार पत्र पठाएको हो ।

२० अर्ब रुपैयाँ ५ किस्तामा टेलिकमलाई तिराउने निर्णय अघिल्लो साता बसेको मन्त्रिपरिषदको बैठकले गरेको थियो जसअनुसार प्राधिकरणले टेलिकमलाई ५ किस्तामा तिर्नुपर्ने रकममध्ये पहिलो किस्ताको रकम तिर्न भनेको हो ।

प्राधिकरणका प्रवक्ता मिन प्रसाद अर्यालले टेलिकमलाई मोबाइल सेवाको दोस्रो पटकको अनुमतिपत्रको लागि नविकरण बापतको किस्ता रकम बुझाउन पत्र पठाएको पुष्टि गरे ।

‘प्राधिकरणले आईतवार नै टेलिकमलाई पहिलो किस्ताको रकम बुझाउन पत्र पठाएको छ, टेलिकमले सोहिअनुसार नविकरण दस्तुर प्राधिकरणमा जम्मा गर्नुपर्नेछ,’ प्रवक्ता अर्यालले भने ।

सो पत्रअनुसार प्राधिकरणले पहिलो किस्तामा करिब ३ अर्ब ९६ करोड २२ लाख रुपैयाँ नविकरण दस्तुर तिर्न भनेको हो ।

प्राधिकरणले पठाएको र नविकरण दस्तुरको पहिलो किस्ता तिर्न भनेको सो पत्र टेलिकमको कार्यालयमा आएको जानकारी नभएको टेलिकमका सह प्रवक्ता कृष्ण प्रसाद भण्डारीले जानकारी दिए ।

‘टेलिकममा प्राधिकरणको पत्र आएको भए जानकारी हुनुपर्ने हो, मैले पत्र आएको जानकारी पाएको छैन्,’ सह प्रवक्ता भण्डारीले भने ।

मन्त्रिपरिषदले टेलिकमलाई मोबाइल सेवाको अनुमतिपत्र दोस्रो पटक नविकरण गर्दा तिर्नुपर्ने दस्तुर ५ किस्तामा तिर्ने सुविधा दिँदै प्रथम किस्ताको दस्तुर तत्काल तिराउन सूचित गर्ने निर्णय गरेको थियो ।

टेलिकमले मोबाइल सेवाको अनुमतिपत्र दोस्रो पटक नविकरण गर्नको लागि यसअघि २०७१ बैशाखमा १८ करोड ९० लाख रुपैयाँ प्राधिकरणमा जम्मा गरेको थियो । त्यसैगरि तेस्रो पटकको नविकरणको लागि पनि टेलिकमले यहि बैशाखमा १८ करोड ९० लाख तिरेर निवेदन दिएको छ । सो बारेमा पनि थप केहि निर्णय हुन सकेको छैन् ।

प्रकाशित: २० जेष्ठ २०७६, सोमबार

तपाइको प्रतिक्रिया