Technology Khabar १६ जेष्ठ २०७६, बिहीबार
काठमाडौं ।
काठमाडौं । आगामी आर्थिक वर्ष २०७६।७७ देखि नेपालमा मोबाइलको शुल्क घट्ने भएको छ । सरकारले बजेटमार्फत मोबाइलमा लाग्दै आएको करको दर घटाएसँगै मोबाइलको मूल्य घट्ने निश्चित भएको हो ।
अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै मोबाइलमा लाग्दै आएको करको दर घटाएका छन् । उनले आगामी आवको बजेटमा मोबाइल फोनको आयातमा लाग्ने अन्त:शुल्क दर आधा घटाउँदै २.५ प्रतिशतमा झारेका छन् । यसअघि चालु आवमा यस्तो दर ५ प्रतिशत कायम रहेको थियो ।
अर्थमन्त्री खतिवडाले चालु आवमा मोबाइल आयातमा दिँदै आएको भ्याट छुट हटाउँदै अन्तशुल्क दर पनि ५ प्रतिशत कायम गरेका थिए । सोहि कारण चालु आवमा मोबाइल फोनको मुल्य बढेपछि आयात करिब ५० प्रतिशतले घटेको थियो । भन्सार बढ्दा नेपालमा चोरी पैठारी हुँदै मोबाइल फोन भित्र्ने गरेको थियो ।
आगामी आवको लागि सेलुलर संजालहरु वा अन्य तारबिहिन संजालहरुकालागि प्रयोग हुने टेलिफोनहरुमा अन्तशुल्क दर २.५ प्रतिशत मात्र कायम गरिएको छ । हाल मोबाइल फोन आयातमा लाग्दै आएको १३ प्रतिशत भ्याट शुल्क भने कायम नै राखिएको छ ।
यसअघि मोबाइल फोन आयातकर्ताहरुले पटक पटक चालु आवमा मोबाइल फोनमा लगाईएको अन्तशुल्क हटाउन माग गर्दै आएका थिए ।
आगामी आवको बजेटमा दूरसंचार कम्पनीहरुले प्रयोग गर्ने बेस स्टेशनमा ५ प्रतिशत भन्सार लगाईएको छ भने स्वीचिंग, राउटरहरुमा पनि ५ प्रतिशत अन्तशुल्क लगाईएको छ ।
प्रकाशित: १६ जेष्ठ २०७६, बिहीबार