Technology Khabar ९ जेष्ठ २०७६, बिहीबार
काठमाडौं ।
काठमाडौं । एउटा ल्यापटपको मूल्य कति पर्ला ? नेपाली बजारलाई आधार मान्दा केहि हजार वा केहि लाख रुपैयाँ । बजारमा विभिन्न डिजाइन, स्पेक र फीचरका नयाँ ल्यापटपहरु किन्न पाईन्छ, जसको मूल्य अधिकतम केहि लाख रुपैयाँसम्म हुनसक्दछ ।
तर एउटा पुरानो ल्यापटपलाई मानिसले मिलियन डलर अर्थात करोडौं रुपैयाँ तिरेर किनेको सुन्दा भने तपाईँलाई आश्चार्य लाग्नेछ । अझ त्यो ल्यापटपमा विभिन्न किसिमका भाइरसहरु लागेको छ भन्दा त झनै अचम्म लाग्यो होला ।
हालै अमेरिकामा विभिन्न ६ प्रकारका भाईरसहरु लगाईएको ल्यापटपको अक्सन गरिएको छ जसलाई खरिदकर्ताले लाखौं डलर खर्च गरेको छ । आर्ट प्रोजेक्टअन्तरगत अक्सन गरिएको सो ल्यापटपको मूल्य अधिकतम ११ लाख अमेरिकी डलर अर्थात करिब १२ करोड ३२ लाख रुपैयाँमा खरिदकर्ताले किनेका छन् ।
इन्टरनेट जोडिएको सामसंगको सो ल्यापटप अक्सनकर्ताको घरसम्म पुर्याउँदा भने इन्टरनेट कनेक्टन हटाईने बिबिसीको रिपोर्टमा बताईएको छ ।
करिब ११ वर्ष पुरानो नोटबुकलाई सेक्यूरिटी मूल्यांकनको लागि अन्य नेटवर्कहरुबाट आइसोलेट गरिनेछ ।
अमेरिकामा मालवेयर अर्थात भाइरसहरु बिक्री गरिनु गैर कानूनी रहेको छ किनकी यसले धेरै क्षति गर्दछ । तर यो अक्सन निश्चित शर्त र अवस्थाहरुका साथमा गरिएको थियो । जसमा सो ल्यापटप केबल कलाको रुपमा खरिद गर्नुपर्नेछ वा एकेडेमिक अनुसन्धान वा कारणमा मात्र खरिद गर्न पाईने प्रावधान राखिएको थियो । सो अक्सन बुधवार सकिएको छ ।
सो प्रोजेक्ट कलाकार गूओ ओ डोंग र न्यूयोर्कको साइबर सिक्योरिटी कम्पनी डिप इस्न्टिक्टको सहकार्यमा गरिएको थियो ।
सो ल्यापटपमा वानाक्राई, आईलभयू, माईडोम, सोबिग, डार्कटक्विला, ब्लाकइनर्जीनामक मालवेयर तथा भाइरसहरु रहेका छन् ।
सो अक्सनबारे केहि साइबर सिक्योरिटी विशेषज्ञहरुले भने आश्चार्य व्यक्त गरेका छन् । उनीहरुले बिना कुनै एन्टिभाइरस सफ्टवेयर ल्यापटपलाई इन्टरनेटमा केहि दिनसम्म त्यसै राखिदिने हो भने त्यस्तै भाइरस आउने र लाखौं डलर बचाउन सकिने उल्लेख गरेका छन् ।
प्रकाशित: ९ जेष्ठ २०७६, बिहीबार