आन्दोलन फिर्ता गर्न एनटिए व्यवस्थापनको पत्र, नरोकिने कर्मचारी यूनियनको भनाई

  • Technology Khabar | १३ बैशाख २०७६, शुक्रबार
आन्दोलन फिर्ता गर्न एनटिए व्यवस्थापनको पत्र, नरोकिने कर्मचारी यूनियनको भनाई

काठमाडौं ।

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरण (एनटिए)का कर्मचारीहरुको सेवा सुविधा वृद्धिको माग गर्दै हाल चलिरहेको आन्दोलन फिर्ता लिन प्राधिकरण व्यवस्थापनले कर्मचारी यूनियनलाई अनुरोध गरेको छ ।

व्यवस्थापनको तर्फबाट कार्यवाहक अध्यक्ष पुरुषोत्तम खनालले नेपाल दूरसंचार प्राधिकरण स्वतन्त्र कर्मचारी यूनियनलाई वैशाख ११ गते पत्र पठाउँदै आन्दोलनका सम्पूर्ण कार्यक्रमहरु फिर्ता लिन अनुरोध गरेका हुन् ।

सो पत्रमा यसअघि गत वर्ष असोज २२ गते नै संचार तथा सूचना प्रविधि मन्त्रालयमा कर्मचारीहरुको सेवा सुविधाहरु वृद्धि गर्न सहमतिको अनुरोध गरिएको भन्दै सो अनुरोधको आधारमा मन्त्रालयले अर्थ मन्त्रालयको सहमतिका लागि पत्र पठाएको उल्लेख छ । मन्त्रीस्तरको निर्णयअनुसार प्राधिकरणको सेवा, सुविधाहरु वृद्धिको लागि अर्थ मन्त्रालयमा सहमतिको लागि यहि वैशाख ४ गते पत्र पठाईएको र त्यसको लागि ताकेता समेत गरिएको भन्दै सम्पूर्ण आन्दोलन फिर्ता लिन पत्रमार्फत भनिएको हो ।

उता कर्मचारी यूनियनले भने व्यवस्थापनको सो पत्र अहिलेको आन्दोलन रोक्नको लागि मात्र भएको आशंका गरेको छ । यूनियनका एक पदाधिकारीले यसअघि पनि धेरै पटक आन्दोलन रोक्न भनिएको हुँदा यो पटक निष्कर्षमा मात्रै पुगेर रोकिने बताए ।

‘व्यवस्थापनलाई हामीले धेरै पटक हाम्रो सेवा सुविधा लामो समयदेखि नबढेको हुँदा बढाउन भनेका थियौं तर अहिलेसम्म सुनुवाई भएको छैन्, अहिले हामीलाई गरिएको अनुरोध पत्र केबल कर्मचारीको आन्दोलन बिचमै तुहाउने खेल हो,’ उनले भने । अहिलेको आन्दोलन निष्कर्षमा नपुगेसम्म नरोकिने उनको दाबी थियो ।

हाल कर्मचारी यूनियनमा आबद्ध कर्मचारीहरुले आन्दोलन र विरोध स्वरुप दूरसंचार प्राधिकरण भित्र हातमा कालोपट्टि बाँधेर काम गरिरहेका छन् । उनीहरु बिगत लामो समयदेखि प्राधिकरणका कर्मचारीहरुको सेवा सुविधाहरु पुनरावलोकन नभएको भन्दै चरणबद्ध आन्दोलनमा छन् ।

प्रकाशित: १३ बैशाख २०७६, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...