
काठमाडौं ।
अनुज राज । काठमाडौं । नेपाल भित्र सबैभन्दा ठूलो ग्राहक संजाल भएको इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्यूनिकेसन्स प्रालिले आफ्नो कम्पनीको केहि शेयर बिक्री गर्ने भएको छ । निजी कम्पनीको रुपमा संचालित वर्ल्डलिंकले आफ्नो सिमित शेयर विदेशी कम्पनीलाई बिक्री गर्ने तयारी गरेको हो ।
वर्ल्डलिंकले आफ्नो कम्पनीका हिस्सेदारहरु मनोज अग्रवाल र बिजय कुमार जलानको हिस्साको शेयर बिक्री गर्ने भएको हो ।
वर्ल्डलिंकका ७ शेयरधनीहरुमध्ये दुई शेयरधनीहरुको शेयर हिस्सा सिडिसी नेपाल अपर्च्यूनिटिजले किन्नेछ भने बाँकी नयाँ शेयर जारी गरेर बिक्री गर्नेछ ।
वर्ल्डलिंकले यसको लागि बेलायती कम्पनी सिडिसी नेपाल अपर्च्यूनिटिज लिमिटेडसँग गएको फागुन २९ गते सम्झौता गरिसकेको छ । सम्झौताअनुसार सिडिसीले वर्ल्डलिंकको करिब १० प्रतिशत शेयर हिस्सा खरिद गर्ने सो बारेमा जानकार कम्पनी स्रोतले टेक्नोलोजी खबरलाई बतायो ।
सो कम्पनीले वर्ल्डलिंकमा विदेशी लगानी नीति र नियमको अधिनमा रहेर लगानी गर्ने बताईएको छ । स्रोतकाअनुसार यसको लागि कानूनी प्रकृया छिटै सकिने बताईएको छ ।
कम्पनीका शेयरधनी मनोजको शेयरमध्ये १४ हजार ४ सय शेयर कित्ता तथा बिजयको नाममा रहेको १९ हजार २ सय कित्ता शेयर सिडिसी नेपाल अपर्च्यूनिटिजलाई बिक्री गरिनेछ भने सो कम्पनीका लागि थप ९६ हजार कित्ता नयाँ शेयर जारी गरिने छ । दुबै शेयरधनीको कुल शेयर हिस्सा करिब २.५९३ प्रतिशत हुनेछ भने अर्को थप जारी हुने ७.४०७ प्रतिशत शेयर गरेर कुल १० प्रतिशत शेयर नयाँ कम्पनीले लिनेछ ।
‘यो नयाँ लगानीपछि कम्पनीले अझ तिब्रगतिमा बजार बिस्तार गर्ने योजना लिएको छ,’ स्रोतले टेक्नोलोजीखबरलाई भन्यो ।
वर्ल्डलिंकको शेयर साझेदार हुन लागेको नयाँ कम्पनी सिडिसी नेपाल अपच्र्यूनिटिज लिमिटेड बेलायतमा आधारित कम्पनी हो । यो कम्पनीलाई सिडिसी ग्रुप पिएलसीले नियन्त्रण गर्दछ, जुन कम्पनी बेलायती सरकारको शतप्रतिशत लगानी भएको डिपार्टमेन्ट फर इन्टरनेशनल डेभलपमेन्ट (डिएफआईडी) को अधिनमा रहेको छ । बेलायतको १२३ भिक्टोरिया स्ट्रिट, लण्डन दर्ता अफिस ठेगाना भएको कम्पनीको किसिम भने प्राइभेट लिमिटेड कम्पनीको रुपमा रहेको छ ।
सो कम्पनी भेन्चर एण्ड डेभलपमेन्ट क्यापिटल कम्पनीको रुपमा व्यवसाय गर्नेगरि दर्ता भएको सो बेलायतमा कम्पनीहरु दर्ता गर्ने निकाय कम्पनीज हाउसको आधिकारीक वेबसाइटमा उल्लेख छ ।
यसअघि सन् २०१९ जनवरी १६ सम्म सिडिसी फण्डस म्यानेजमेन्ट लिमिटेड र त्यसअघि सन् १९९९ अक्टोबर १ तारिखसम्म थ्रशेलफ्को लिमिटेडको नाममा संचालनमा रहेको थियो । कम्पनीको वेबसाइटकाअनुसार पर्भेज शाजिया सेक्रेटरीकोरुपमा कार्यरत छन भने क्रिस्टोफर कोल्स, जेन एर्ल र क्लिभ रोबर्ट म्याक्टभिस सक्रिय निर्देशकको रुपमा कार्यरत रहेका छन् ।
डिएफआईडीअन्तरगतको सो कम्पनीले नेपालमा पहिलोपटक लगानी गर्न लागेको हो ।
सरकारी कम्पनीको रुपमा रहेको सिडिसी ग्रुप पिएलसीले दक्षिण एशियामा मात्रै कयौं प्रविधि, पूर्वाधार, अटोमोबिल, स्वास्थ्य, उत्पादनमूलक, वित्तियसेवा लगायतको क्षेत्रमा विभिन्न कम्पनीहरुमा लगानी गर्दै आएको छ ।
सो ग्रुपले छिमेकी मुलुक भारत, चीन, बंगलादेश, पाकिस्तान, अफगानिस्तान, श्रीलंका, म्यानमारलगायतका देशहरुमा सयौं कम्पनीहरुमा लगानी गरेको सो ग्रुपको आधिकारिक वेबसाइटमा उल्लेख छ । ग्रुपले एसेन्ड टेलिकम इन्फ्रास्ट्रक्चर प्रालि, बिपिएल कम्यूनिकेसन्स लिमिटेड, रिलायन्स इन्फ्राटेल लिमिटेड, केयर हस्पिटल्स ग्रुप, पाकिस्तानस्थित दराजडट पिके, एचडिएफसी लिमिटेड, हबिब बैंक लिमिटेड, रनर मोटर्स लिमिटेड, एक्ट टेलिकम इन्फ्रास्ट्रक्चर प्रालिलगायतमा लगानी गरेको छ । यसबाहेक अफ्रिकाका विभिन्न देशहरुमा पनि लगानी गरिरहेको उल्लेख छ ।
यता वर्ल्डलिंक कम्यूनिकेसन्समा दिलिप अग्रवाल, बिजय कुमार जालान, मनोज अग्रवाल, समित जन थिंङ, ललिता अग्रवाल, केशव नेपाल र विश्वनाथ प्रसाद अग्रवाल शेयरधनी रहेका छन् । वर्ल्डलिंकमा कुल १२ करोड रुपैयाँ शेयर लगानी रहेको कम्पनी रजिस्ट्रारको कार्यालयको तथ्यांकबाट देखिन्छ ।
प्रकाशित: ३ बैशाख २०७६, मंगलवार