Technology Khabar १५ चैत्र २०७५, शुक्रबार
काठमाडौं ।
काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले सि.जि.कम्यूनिकेशन्स प्रालिको ग्रामीण दूरसंचार सेवाको अनुमतिपत्र नविकरण गरेको छ ।
प्राधिकरणको यहि साता बसेको बोर्ड बैठकले सि.जि.को ग्रामीण दूरसंचार सेवाको अनुमतिपत्रका साथै इन्टरनेट(ईमेलसहित) सेवाको अनुमतिपत्र पनि नविकरण गरेको हो ।
यसअघि सि.जि.ले आफ्नो अनुमतिपत्र सन् २०१८ डिसेम्बर २ देखि सकिने भन्दै सो अनुमतिपत्र ५ वर्षका लागि नविकरण गरिदिन आवेदन गरेको थियो । सन् २००३ मा पाएको ग्रामीण दूरसंचार सेवाको अनुमतिपत्र पहिलो पटक १० वर्षका लागि र त्यसपछिको प्रत्येक ५ वर्षमा नविकरण गर्नुपर्ने प्रावधानअनुसार कम्पनीले सो अनुमतिपत्र नविकरण गरिदिन निवेदन दिएको थियो । अब कम्पनीले सो लाइसेन्स अबको ५ वर्षमा रिन्यू गर्नुपर्नेछ ।
कम्पनीले नियमानुसार दस्तुर तिरी आवेदन गरेको भएपनि प्राधिकरणले सो विषयमा निर्णय गर्न सकेको थिएन् ।
प्राधिकरणका निर्देशक तथा प्रवक्ता मिनप्रसाद अर्यालले प्राधिकरणको आन्तरिक कारणहरुले गर्दा अनुमतिपत्र नविकरणमा ढिलाई भएको जानकारी दिए ।
‘सिजिले समयमा नै अनुमतिपत्र नविकरणको लागि आवेदन दिएको थियो तर सो समयमा प्राधिकरणमा अध्यक्ष नहुँदा बोर्ड बस्न सक्ने अवस्था नै थिएन, त्यसैले ढिलो निर्णय भएको हो,’ उनले टेक्नोलोजीखबरसँग भने ।
हाल प्राधिकरण बोर्ड बैठकले दूरसंचार ऐन, २०५३ को दफा २५ तथा दूरसंचार नियमावली, २०५४ को नियम १२ अनुसार नविकरण गर्ने निर्णय गरेको हो ।
कम्पनीले अनुमतिपत्र नविकरण गर्नका लागि म्याद सकिने मितिले ३ महिना अगाडि नै अनुमतिपत्र नविकरणका लागि दस्तुरसहित आवेदन दिनुपर्ने प्रावधान छ । सि.जि.ले पनि सोहि प्रकृयाअनुसार अनुमतिपत्र नविकरणको लागि आवेदन दिएको भएपनि प्राधिकरणले समयमा नै नविकरण गरिदिन सकेको थिएन् । हाल प्राधिकरणले करिब ३ महिनापछि सि.जि.को लाइसेन्स नविकरण गरिदिएको हो ।
आइएसपीको लाइसेन्स नविकरण
त्यस्तै सि.जि.ले प्राधिकरणबाट लिएको इन्टरनेट सेवा प्रदायकको लाइसेन्स पनि नविकरण भएको छ । कम्पनीले आफ्नो लाइसेन्स असोज ९ गते नै सकिने भन्दै सो अगावै नविकरणको लागि आवेदन दिएको हुँदा प्राधिकरणले ढिलै भएपनि सो कम्पनीको आइएसपीको लाइसेन्स नविकरण गरिदिएको छ ।
प्राधिकरणले २०७५ असोज ९ देखि लागू हुने गरी नै सि.जि.को आइएसपीको लाइसेन्स नविकरण गरिदिएको हो ।
प्रकाशित: १५ चैत्र २०७५, शुक्रबार