
काठमाडौं ।
काठमाडौं । पछिल्लो १ वर्षमा नेपालमा ब्रोडब्याण्ड प्रयोगकर्ताहरुको संख्यामा १३ प्रतिशत भन्दा बढिको वृद्धि भएको छ । नेपाल दूरसंचार प्राधिकरणले हालै सार्वजनिक गरेको माघ महिनाको एमआईएस रिपोर्टअनुसार गत आर्थिक वर्षको फागुन महिनाको तुलनामा चालु आर्थिक वर्षको माघ मसान्तसम्म १३ दशमलब १ प्रतिशतको ब्रोडब्याण्ड पहुँचमा वृद्धि हुन पुगेको छ ।
रिपोर्टमा गत वर्षको फागुन महिनामा ४५ दशमलब ६७ प्रतिशत ब्रोडब्याण्ड कनेक्सनको पहुँच थियो भने चालु आवको माघ मसान्तसम्म त्यसमा दोहोरो अंकको वृद्धि हुँदै ५८.७७ प्रतिशतको वृद्धि भएको उल्लेख छ ।
ब्रोडब्याण्ड पहुँचको तथ्यांक हेर्दा विगत एक वर्षमा निरन्तर वृद्धि भईरहेको देखिन्छ । चालु आवको माघ महिनामा पुस महिनाको तुलनामा मात्रै पनि २ प्रतिशत भन्दा बढिको वृद्धि भएको छ ।
ब्रोडब्याण्ड पहुँचको आधारमा हेर्दा सबैभन्दा धेरै पहुँच मोबाइल ब्रोडब्याण्डमार्फत भएको देखिन्छ । मोबाइल ब्रोडब्याण्ड सेवाले मात्र ७८ प्रतिशत बजार हिस्सा ओगटेको छ भने फिक्स वायर्ड तर्फ २० प्रतिशत बजार हिस्सा छ भने फिक्स्ड वायरलेसतर्फ केबल २ प्रतिशत बजार हिस्सा देखिन्छ ।
कम्पनीहरुको आधारमा हेर्दा ब्रोडब्याण्ड प्रयोगकर्ताहरु सबैभन्दा धेरै नेपाल टेलिकमको रहेको देखिन्छ, जसले सबैभन्दा धेरै थ्रीजी सेवा प्रयोग गर्ने गर्दछन् । त्यस्तै एनसेलका ग्राहकहरुमध्ये धेरैले थ्रीजी चलाउने गरेको देखिन्छ भने फोरजी सेवा दिईरहेका नेपाल टेलिकम, एनसेल र स्मार्ट टेलिकमको प्रयोगकर्ता निकै कम मात्र छन् ।
सबैभन्दा धेरै प्रयोगकर्ता भएको नेपाल टेलिकमका ६१ लाख ३३ हजार बढि ग्राहकहरुले थ्रीजी प्रयोग गर्दछन भने फोरजी मोबाइल ब्रोडब्याण्ड प्रयोगकर्ताको संख्या ७ लाख ११ हजार भन्दा बढि रहेको छ ।
त्यस्तै एनसेलका थ्रीजी प्रयोगकर्ताको संख्या ४५ लाख ७६ हजार भन्दा बढि रहेको देखिन्छ भने फोरजी प्रयोगकर्ताहरुको संख्या १६ लाख ७२ हजार भन्दा बढि छ ।
अर्को टेलिकम कम्पनी स्मार्ट टेलिकमले फोरजी सेवा मात्र प्रदान गरिरहेको छ, जो सँग १ लाख १९ हजार फोरजी मोबाइल ब्रोडब्याण्ड प्रयोगकर्ता रहेको देखिन्छ ।
एमआईएस रिपोर्टअनुसार थ्रीजी सेवा प्रयोगकर्ताहरुको कुल संख्या १ करोड ७ लाख १० हजार भन्दा बढि रहेको छ भने फोरजी सेवा प्रयोगकर्ताहरुको संख्या २५लाख ३ हजार भन्दा केहि बढि रहेको छ ।
माघ मसान्तमा मोबाइल ब्रोडब्याण्ड प्रयोगकर्ताहरु ४५.५८ प्रतिशत पुगेका छन भने फिक्स्ड ब्रोडब्याण्ड वायर्डको प्रयोगकर्ता ११.९६ प्रतिशत तथा फिक्स्ड वायरलेस प्रयोगकर्ता १.२३ प्रतिशत रहेको तथ्यांकमा उल्लेख छ।

प्रकाशित: १४ चैत्र २०७५, बिहीबार