ह्वावेद्वारा अमेरिकी सरकार विरुद्ध मुद्दा दायर, प्रतिस्पर्धाबाट बन्चित गरेको आरोप

Technology Khabar २३ फाल्गुन २०७५, बिहीबार

काठमाडौं ।

शेनजेन । चिनीया कम्पनी सूचना प्रविधि एवं दूरसञ्चार प्रदायक ह्वावेले अमेरिकी सरकारविरुद्ध मुद्धा दायर गरेको छ । आफ्ना उत्पादन अमेरिकी बजारमा बिक्री गर्न रोक लगाउने अमेरिकी कानुन खारेजी गर्न माग गर्दै मुद्दा दायर गरेको छ ।

ह्वावेले आफ्ना उपकरण मार्फत चीन सरकारका लागि जासुसी गरिरहेको आरोप लगाउँदै अमेरिकाले हुवावेका सामग्री खरिदमा प्रतिबन्ध लगाइरहेको छ । जासुसीको आरोप खेपिरहेको ह्वावेका सामानमाथि अमेरिका सहित विश्वका धेरै देशमा प्रतिबन्ध लगाइएको छ ।

ह्वावेले अमेरिकाको टेक्सासको प्लानोस्थित जिल्ला अदालतमा सन् २०१९ को अमेरिकी प्रतिरक्षा कानुनको दफा ८८९ विरुद्ध मुद्दा दर्ता गरेको जनाएको छ । उक्त कानुनले सरकारी निकायले ह्वावेका उपकरण, सेवा वा ह्वावेका ग्राहक रहेका अरु निकायका सेवा खरिद गर्न प्रतिबन्ध लगाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सो कानून गत अगस्टमा ल्याएका थिए ।

मुद्दा दर्तासँगै चिनीया कम्पनी ह्वावे राजनीतिक, कानुनी समेतका सबै विधि उपयोग गर्न अग्रसर भएको देखाएको छ । उच्च गतिको पाँचौं पुस्ताको दूरसञ्चार प्रविधि (फाइभ–जी) विकास गरिसकेको हुवावेले आफू विश्व बजारमा महत्वपूर्ण प्रतिस्पर्धी हुन चाहेको सङ्केत पनि दिएको छ । अमेरिकी सो प्रतिबन्धले ह्वावेलाई ५जी बिस्तारमा समस्या हुँदै आएको छ ।

‘ह्वावेका उत्पादनमाथि प्रतिबन्ध लगाउनुपर्ने ठोस कारण र प्रमाण जुटाउन अमेरिकी कङ्ग्रेस पनि पटकपटक असफल भइसकेको छ । हामी कानुनी उपचार नै उपयुक्त र अन्तिम प्रयत्न हो भन्नेमा सोच्न बाध्य भएका छौं,’ ह्वावेका अध्यक्ष गुओ पिङले भने।

‘कानुनी झन्झट समाप्त गर्ने हो भने ह्वावेले अमेरिकामा अझ समुन्नत प्रविधि भित्र्याउने छ र उत्कृष्ट फाइभ–जी सञ्जाल निर्माणमा मद्दत गर्नेछ,’ उनले भने ।

गुओले प्रतिबन्धका कारण भएको हानि नोक्सानीको यकिन विवरण नखुलाइएको बताए।

‘अमेरिकी सरकारले ह्वावेलाई बदनाम गराउन कुनै कसर बाँकी राखेको छैन,’ शेनजेनस्थित कम्पनीको मुख्यालयमा आयोजित गुओले पत्रकार सम्मेलनमा भने ।

गुओले अमेरिकी सरकारले ह्वावेको सर्भर ह्याक गरेको तथा इमेलहरु र “सोर्स कोड” चोरी गरेको पनि दाबी गरे। तर उनले यस बारेमा विस्तृत विवरण दिन चाहेनन् ।

अमेरिकी सरकारले ह्वावेबाट राष्ट्रिय सुरक्षामा गम्भीर खतरा उत्पन्न भएको जनाउँदै आएको छ । खासगरी ह्वावेका संस्थापक रेन झेङफाई चिनीया सेनाका इन्जिनियर भएका कारण अमेरिकाले शङ्का जनाइआएको छ ।

हाल ह्वावे विश्वकै अग्रणी दूरसञ्चार सेवा प्रदायक कम्पनी हुनुका साथै स्मार्टफोन उत्पादनमा समेत सामसङ र एप्पल कम्पनीलाई चुनौती दिइरहेको छ ।

चीनले हालै प्रयोगमा ल्याएको एक कानुनमा सबै चिनीया कम्पनीहरुले राष्ट्रिय सुरक्षामा सरकारलाई मद्दत गर्नुपर्ने व्यवस्था गरिएको छ । यो कानुनी व्यवस्थाले ह्वावेका बारेमा थप चासो बढेको हो।

संयुक्तराज्य अमेरिकाले ह्वावेका उपकरणहरु अरु देशका गतिविधि जासुसी गर्न चीनको कम्युनिष्ट सरकारले दुरुपयोग गर्न सक्ने बताएको छ । अमेरिकाले ह्वावेको सेवा प्रयोगमा नल्याउन अरु देशलाई पनि आह्वान गरेको छ ।

यो प्रतिबन्ध कानूनविरुद्ध मात्र नभई यसले ह्वावेलाई स्वच्छ प्रतिस्पर्धा गर्नबाट पनि बन्चित गरेको, जसले अन्ततः अमेरिकी उपभोक्ताहरुलाई असर पारेको भन्दै उनले अदालतको निर्णय तर्फ हेरिरहेको बताएका छन् ।

ह्वावेले दायर गरेको मुद्धामा कम्पनीले आफ्ना उपकरण तथा सेवाहरु अत्याधुनिक सुरक्षा प्रकृया पुरा गरेका र कुनैपनि गोप्यद्धार, जासुसी गतिबिधि तथा अन्य अन्तराष्ट्रिय सुरक्षा जोखिम नभएको उल्लेख गरेको छ ।

कम्पनीले विश्वका १७० भन्दा बढि देशहरुमा ह्वावेका उपकरणहरु तथा सेवाहरु प्रयोगमा रहेको जानकारी समेत गराएको छ ।

प्रकाशित: २३ फाल्गुन २०७५, बिहीबार

तपाइको प्रतिक्रिया