
काठमाडौं ।
काठमाडौं । समावेशी इन्टरनेटको प्रयोगमा न्यून आय हुने मुलुकहरुमध्ये नेपालको अवस्था उत्कृष्ट भएको देखिएको छ ।
हालै सार्वजनिक इनक्लूसिभ इन्टरनेट इण्डेक्स २०१९ मा नेपाल गरिब मुलुकहरुमध्ये पहिलो स्थानमा रहेको रिपोर्ट सार्वजनिक भएको छ । तर समग्र विश्वभरका इन्टरनेट प्रयोगकर्ता मुलुकहरुमध्ये नेपालको अवस्था भने निकै कमजोर देखिएको छ । समग्र सूचीमा भने नेपाल ७२ औं स्थानमा रहेको छ ।
फेसबुकले हरेक वर्ष सार्वजनिक गर्ने इनक्लूसिभ इन्टरनेट इण्डेक्स २०१९ मा न्यून आय भएका देशहरुको सूचीमा नेपालले १०० मा कुल ६०.९ अंक हासिल गर्दै पहिलो स्थानमा रहन सफल भएको छ । सो सूचीमा नेपाल बाहेक अन्य गरिब मुलुकहरुमा सबै अफ्रिकी मुलुकहरु रहेका छन् ।
त्यसैगरि दक्षिण एशियाली मुलुकहरुमध्ये पाकिस्तानभन्दा केहि अगाडि मात्र नेपाल रहेको देखिएको छ । पाकिस्तान ७७ औं स्थानमा रहेको छ भने अर्को मुलुक बंगलादेश नेपालभन्दा एक स्थान मात्र माथि रहेको छ । तर छिमेकी मुलुक भारतको अवस्था भने निकै माथि देखिएको छ। इनक्लूसिभ इन्टरनेट इण्डेक्स २०१९मा भारत ४७ औं स्थानमा रहेको छ।
रिपोर्टअनुसार मोबाइल डाटाको शुल्क उल्लेख्य मात्रामा घटेको देशमा नेपाल पनि रहेकोछ, समग्रमा प्रिपेड ५०० एमबी मोबाइल डाटा प्लानको शुल्क मासिक आम्दानीको तुलनामा २.४ प्रतिशतमा झरेको छ । यस्तो प्रतिशत सन् २०१८ मा भने २.६ प्रतिशत थियो । मोबाइल डाटा प्लानको शुल्क घटेको मुलुकहरुमध्ये नेपालको ८९.३ प्रतिशतले घटेको छ भने बुल्गेरियाको ९०.२ प्रतिशत तथा घानाको ७६.८ प्रतिशत रहेको देखिएको रिपोर्टमा उल्लेख छ ।

सो इण्डेक्समा विश्वभरका १०० मुलुकहरुलाई समावेश गरिएको छ, जसले विश्वको जनसंख्याको ९६ प्रतिशत तथा जीडीपीको ९४ प्रतिशत प्रतिनिधित्व गर्दछ । इनक्लूसिभ इन्टरनेट इण्डेक्स २०१९का लागि दि इकोनोमिष्ट इन्टेलिजेन्स यूनिटले फेसबुकको सहयोगमा विभिन्न तहमा ५ हजार भन्दा बढि मानिसहरुसँग सर्वे गरेको थियो ।
सो सूचीको पहिलो स्थानमा स्वीडेन रहेको छ भने इनक्लूसिभ इन्टरनेट इण्डेक्समा सिंगापुर, अमेरिका, डेनमार्क र बेलायत क्रमशः दोस्रो, तेस्रो, चौथो र पाँचौं नम्बरमा रहेको छ ।
रिपोर्टकाअनुसार इन्टरनेसँग जोडिएका घरहरुको वैश्विक औसत पछिल्लो सातको ५३.१ प्रतिशतको तुलनामा यो वर्ष ५४.८ प्रतिशत भएको छ । इन्टरनेट कनेक्सनको वृद्धिदर २०१८ को ७.७ प्रतिशतको तुलनामा घटेर सन् २०१९ मा २.९ प्रतिशत मात्र रहेको छ । तर यहि अवधिमा निम्न मध्यम आय भएको देशहरुमा भने फोरजी कभरेजमा ६६ प्रतिशतको सुधार भएको देखिएको छ । तर निम्न आय भएका देशहरुमा भने यस्तो सुधार केबल २२ प्रतिशत मात्र रहेको छ ।
यो अध्ययन अनुसन्धानअनुसार महिलाहरुको तुलनामा पुरुषहरुसँग इन्टरनेटको पहुँच अधिक रहेको छ । तरपनि निम्न तथा मध्यम आय भएका मुलुकहरुमा सन् २०१८ को तुलनामा यसमा कमी आएको छ । सो इण्डेक्सकाअनुसार ई इनक्लूजन नीतिहरु, डिजिटल स्कील प्रोग्रामका साथ साथै विज्ञान औद्योगिकी, इन्जिनियरिंग र गणितको अध्ययनद्धारा महिलाहरु तथा युवतीहरुलाई निकै फाईदा पुगेको छ ।
रिपोर्टअनुसार बेलायत, नामीबिया, आयरल्याण्ड, अष्ट्रिया, चिली र दक्षिण अफ्रिका यो साल टप परफर्मर अफ दि ईयर रहेका छन् । यी देशहरुले योजनाबद्धरुपमा महिलाहरुलाई डिजिटल तालिम दिने काम गरेका थिए ।
विश्वभरमा अझैपनि ३.८ अर्ब मानिसहरुसँग तिब्रगतीको तथा विश्वसनिय इन्टरनेटको सुविधा उपलब्ध छैन् । निम्न आय भएका देशहरुको इन्टरनेट कनेक्सनको वृद्धिदरमा तिब्र कमी देखिएको छ । पछिल्लो वर्ष यस्तो दर ६५.१ प्रतिशत थियो तर यसमा उच्च कमी आउँदै केबल ०.८ प्रतिशतमा झरेको छ । रिसर्चमा समावेश ५२.२ प्रतिशत मानिसहरुले अनलाइन प्राइभेसीको बारेमा धेरै विश्वास नगर्ने बताएका छन् । ७४.४ प्रतिशत मानिसहरुकाअनुसार नयाँ जागिर खोज्नका लागि इन्टरनेटको निकै महत्वपूर्ण योगदान रहेको छ ।
फेसबुकको ग्लोबल कनेक्टिभिटी पोलिसी तथा प्लानिंग हेड रोबर्ट पेपरले भने कम आय र निम्न मध्यम आय भएका देशहरुमा महिलाहरु तथा शारिरिक असक्तहरुको समावेशीतामा सुधार भएको छ । उनकाअनुसार केहि देशहरुमा फिक्स्ड लाइन इन्टरनेट कनेक्सन निकै महंगो छ वा सो पहुँचमा छैन् । यसै कारणले मोबाइल सेवा निकै महत्वपूर्ण रहेको छ ।
इनक्लूसिभ इन्टरनेट इण्डेक्स रिपोर्ट तयार गर्नका लागि इन्टरनेटको उपलब्धता, सामथ्र्य, प्रासंगिकता तथा तत्परता जस्ता विषयहरुको आधारमा मूल्यांकन गरिएको हो ।
प्रकाशित: १६ फाल्गुन २०७५, बिहीबार