
काठमाडौं ।
काठमाडौं । यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्रको लिखित परीक्षामा पास भए नभएको जानकारी एसएमएसबाटै लिन सकिने सेवाको सुरुवात गरेको छ ।
साथै, ट्रायल पास भएर वा नवीकरण गर्न दिएर स्मार्ट लाइसेन्सको पर्खाइमा रहेका आवेदकले आफ्नो लाइसेन्स प्रिन्ट भएन/भएको थाहा पाउन पनि अब विभागमा पटक–पटक जानुपर्ने छैन ।
यातायात व्यवस्था विभागका महानिर्देशक लावन्य कुमार ढकाल र स्पेरो एसएमएस प्रा. लि.का प्रबन्ध निर्देशक अरविन्द साहले विभागको प्रधान कार्यालय, मिनभवनमा हालै आयोजित एक कार्यक्रम बीच संयुक्त रुपमा सो सेवाको सुरुवात गरेका हुन् ।
कसरी थाहा पाउने
सवारी चालक अनुमतिपत्रको लिखित परीक्षाको नतिजा थाहा पाउन डब्लूटी WT लेखेर एउटा स्पेस छाडेर एप्लिकेन्ट आईडी टाइप गरेर (WT ‹space› Applicant ID) ३३००१ मा एसएमएस गर्न सकिनेछ । एसएमएस पठाउनासाथ उतिर्ण वा फेल जे भएको छ त्यसको म्यासेज सम्बन्धित व्यक्तिले पाउनेछन् ।
त्यसैगरी, आफ्नो स्मार्ट लाइसेन्स प्रिन्ट भए–नभएको थाहा पाउनका लागि एलसी LC टाइप गरी एक स्पेश दिएर एप्लिकेन्ट आईडी टाइप गरी (LC ‹space› Applicant ID) ३३००१ मा एसएमएस गर्न सकिनेछ । त्यसपछि लाईसेन्स प्रिन्ट भएको वा नभएको तत्काल खबर आउनेछ ।
उक्त प्रणालीको सुरुवात गर्दै महानिर्देशक ढकालले एसएमएस मार्फत सवारी चालक अनुमतिपत्रको लिखित परीक्षाको परिणाम कुर्दै गरेका र स्मार्ट ड्राइभिङ लाईसेन्स कुर्दै गरेका सेवाग्राहीलाई अब सूचना प्राप्त गर्न सहज हुने अपेक्षा व्यक्त गरे ।
नेपालमा चार वर्ष पहिले कागजी लाइसेन्स हटाएर ‘स्मार्ट’ चालक अनुमतिपत्रको वितरण थालिएको थियो ।
प्रकाशित: १ फाल्गुन २०७५, बुधबार