को बन्छ दूरसंचार प्राधिकरणको कार्यबाहक अध्यक्ष, भयो नियमावली संसोधन

Technology Khabar २३ माघ २०७५, बुधबार

काठमाडौं ।

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणमा दिगम्बर झाको राजिनामा सँगै हाल अध्यक्षको पद खालि रहेको छ । सो पदमा प्राधिकरणकै वरिष्ठ निर्देशक पुरुषोत्तम खनालले निमित्तको रुपमा काम गरिरहेका छन् ।

कार्यकारी अध्यक्षतात्मक प्रणालीमा संचालन हुने प्राधिकरणमा अध्यक्ष नहुँदा हाल दिर्घकालिन कार्यक्रमहरु संचालन हुन सकेका छैनन भने संचालन भईरहेका कार्यक्रमहरु पनि बोर्ड बैठक बस्न नसक्दा अगाडि बढेका छैनन् ।

उता सरकारले भने प्राधिकरणमा तत्काल नयाँ अध्यक्ष नल्याउने र अल्पकालिन जिम्मेबारी दिने तयारी गरेको छ । संचार तथा सूचना प्रविधि मन्त्रालयले हालै दूरसंचार नियमावली आठौं संसोधन गर्दै प्राधिकरणमा कार्यबाहक अध्यक्षको प्राबधान लागू गर्न लागेको हो ।

मन्त्रालयले संसोधन गरेको नियमावली हालै राजपत्रमा प्रकाशित भएको छ, जहाँ दूरसंचार नियमावली २०५४ मा नियम ३ क थप गरेको छ । सो नियममा कार्यबाहक अध्यक्षको प्रावधान थप गरिएको हो । जसमा भनिएकोछ- ‘नेपाल सरकारले अध्यक्षको पद कुनै कारणले रिक्त भएमा अध्यक्षको पदपूर्ति नभएसम्मका लागि सदस्या वा प्राधिकरणको कुनै वरिष्ठ निर्देशकलाई बढीमा ६ महिनासम्मका लागि कार्यबाहक अध्यक्ष भई कामकाज गर्न तोक्न सक्नेछ ।’

संसोधित नियमावलीको आधारमा वरिष्ठ निर्देशक वा बोर्ड सदस्यहरुमध्ये कुनै एकजना कार्यबाहक अध्यक्ष हुने ढोका खोलेको छ । जसले अझै को कार्यबाहक अध्यक्षको पदमा नियुक्त भएर आउँछ भन्ने अनिश्चित छ ।

हाल प्राधिकरणमा दुईजना वरिष्ठ निर्देशक छन् भने बोर्डमा चारजना सदस्यहरु रहेका छन् ।प्राधिकरणका वरिष्ठ निर्देशकहरु मध्ये एकलाई मन्त्रालयमा तानिएको छ भने अर्का वरिष्ठ निर्देशकलाई निमित्तको जिम्मेवारी दिईएको छ ।

नियमावलीमा संसोधन गरेको प्रावधानको आधारमा हेर्दा प्राधिकरणमा अझै ६ महिनासम्म नयाँ अध्यक्ष नआउने संभावना देखिन्छ ।

NTA.jpg

प्रकाशित: २३ माघ २०७५, बुधबार

तपाइको प्रतिक्रिया