
काठमाडौं ।
काठमाडौं । क्यान इन्फोटेक २०१९ मंगलबारदेखि काठमाडौंको भृकुटीमण्डपमा शुरु भएको छ ।
सो मेलाको उद्घाटन गर्दै सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल प्रसाद वाँस्कोटाले सूचना प्रविधि अब कुनै वर्ग वा व्यक्तिमा सीमित नराखी सर्वसुलभरुपमा सबैसँग पुग्नुपर्ने बताए। उनले देशमा कनेक्टीभिटी अझै सुलभ हुन नसकेको बताउँदै कनेक्टिभिटी लाईनको मार्ग अझै खुला भइनसकेको बताए ।
‘सरकारले १६ हजार कम्प्युटर किनेर देशको सबै विद्यालयहरूमा पुर्याउँदै छौं । शहरमा बसेर व्यापार गर्न सजिलो छ तर सरकार समेत गाउँमा नसकिरहेको अवस्था छ । युवा पिँढीहरूका लागि मोवाइल बिलासिताको साधन भएको र गरिब देशको पैसा बाहिरिने अर्थ मन्त्रालयको चिन्ता भएपनि आफ्नो मन्त्रालयका लागि अत्यावश्यक वस्तु हो,’ मन्त्री बाँस्कोटाले भने ।
उनले सरकार र सूचना प्रविधिको क्षेत्रबिच सहकार्य हुने भन्दै त्यसको लागि सहयोग गर्नुपर्ने बताए ।
नेपाल चेम्वर्स अफ कर्मशका उपाध्यक्ष राजेन्द्र मल्लले सूचना प्रविधिको प्रयोग गरी देशको व्यापार घाटा कम गर्न सक्ने सुझाव दिए । मल्लले सूचना पार्क उपयोग विहिन भएको भन्दै आफ्नै देशमा सूचना प्रविधिको विकास गरी विदेशिएका युवाहरूलाई रोजगार दिने वातावरण बनाउनु पर्ने बताए ।
क्यान इन्फोटेक मेलामा टिकट काट्ने सहभागीहरू मध्ये ४ जनालाई इन्डोनेशियाको बाली र थाइल्याण्डको बैंककमा हवाई टिकट र खानबस्न सहित सुविधा रहेको जानकारी दिईयो ।
मेलामा रोबट व्याटल कम्पिटिशन, इनोभेशन सेन्टर र ड्रोनलगायत सामाग्रीहरु प्रदर्शनी तथा बिक्रीका लागि राखिएका छन् ।
प्रकाशित: १५ माघ २०७५, मंगलवार