
काठमाडौं ।
काठमाडौं । भुक्तानी सेवा प्रदायक इसेवा फोन पे प्रा.लि. दशौँ वर्षमा प्रवेश गरेको छ । २००९ को अन्त्यमा बेटा भर्जन रिलिज गरी २०१० जनवरी २५ बाट सेवा सुरु गरेको इसेवा हाल मुलुकका हरेक कुनाकाप्चामा पुग्न सफल भएको कम्पनीले जनाएको छ ।
दशवर्षको अवधिमा इसेवाबाट प्रत्यक्ष, अप्रत्यक्ष रुपमा करिब ७५ लाख बढिले सेवा लिइरहेका छन् । हाल इसेवाका देशभर ४५ हजार भन्दा बढि एजेन्ट (इसेवा जोन तथा पोइन्ट) रहेको कम्पनीले जानकारी दिएको छ ।
इसेवाको मोबाईल एप्स् डाउनलोड गर्नेको संख्या पनि करिब १० लाख पुगिसकेको छ ।
इसेवाबाट मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका दुई हजार भन्दा बढी सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ । इसेवामा हाल ४९ वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।
‘मोबाईल वित्तिय सेवालाई नेपालका दुर्गम क्षेत्रसम्म पुर्याएर आम मानिसको दैनिक जनजीवन सहज बनाउने कार्य हामीले सुरूवात गरेकोमा हामी गौरवान्वित बनेका छौं,’ दशौँ वर्ष प्रवेश गरेको उपलक्ष्यमा कम्पनी अध्यक्ष विश्वास ढकालले भने ।
नेपालका सुविधा सम्पन्न क्षेत्रदेखि विकट वस्तीहरुमा इसेवाको उपस्थिती रहेको र विकट क्षेत्रहरुमा इसेवाले अझ सहजता ल्याएको ढकालको भनाई छ ।
आगामी दिनमा हरेक नेपालीको पहुँचमा पुर्याउने गरी अगाडि बढ्ने र थप सेवाहरु विस्तार गर्दै लगिने कम्पनीले जनाएको छ ।
प्रकाशित: १३ माघ २०७५, आईतवार