अनलाईनबाट अर्डर गरेको खानाको पैसा मोबाईलबाटै तिर्न सकिने, ‘खल्ती’ र ‘फुडमान्डु’ बिच रणनीतिक साझेदारीको घोषणा

Technology Khabar १२ पुष २०७५, बिहीबार

काठमाडौं ।

काठमाडौं । मोबाईल भुक्तानी सेवा प्रदायक खल्ती र अन्लाईनबाट रेस्टुरेन्टहरुमा पाइने खाना अर्डर लिने र डेलिभरी गर्ने कम्पनी फुडमान्डु ले रणनीतिक साझेदारीको घोषणा गरेका छन् ।

खल्तीका डाइरेक्टर अमित अग्रवाल र फुडमान्डुका संस्थापक तथा सिईओ मनोहर अधिकारीले यहि पुस १२ गते बिहिबार एक सम्झौता पत्रमा हस्ताक्षर गरेर साझेदारी गरेका हुन् । यस साझेदारी पश्चात फुडमान्डुबाट अर्डर गरेको खानाको पैसा खल्ती मार्फत मोबाईलबाटै तिर्न सकिने भएको छ ।

साझेदारी सुरुवातको अफर स्वरुप प्रयोगकर्ताले खल्तीमार्फत फुडमान्डुमा गर्ने प्रत्येक भुक्तानीमा ५ प्रतिशत क्यासब्याक प्राप्त गर्नेछन् ।

“यस साझेदारी सँगै अन्लाईनबाट खाना अर्डर गर्न रुचाउने ग्राहकहरुले अब खल्ती वालेट प्रयोग गरेर बिना झन्झट मोबाईलबाटै सजिलै पैसा भुक्तानी गर्न सक्नु हुने भएको छ,’ साझेदारीको घोषणा गर्दै खल्तीका निर्देशक अमित अग्रवालले भने ।

“अब, फुडमान्डुका ग्राहकहरूले भुक्तानी गर्नको लागि नगद पैसामा मात्रै भर पर्नु पर्दैन । खल्तीको डिजिटल भुक्तानी सुविधा सँगै नेपालमा विद्यमान क्यास-अन-डेलिभरी प्रणालीमा हुने झन्झटबाट मुक्त हुने आशा गरेका छौँ,’ फुडमान्डुका संस्थापक तथा सिईओ मनोहर अधिकारीले भने ।

सन् २०१० को नोभेम्बरमा सुरु भएको फुडमान्डुले काठमाडौंका विभिन्न रेस्टुराँहरूबाट अनलाइटमा अर्डर गरिएका खानाका परिकारहरू घरदैलोसम्म उपलब्ध गराउँदै आएको छ । फुडमान्डूसँग अहिले काठमाडौँ र ललितपुर वरपरका ३०० भन्दा बढी रेष्टुरेन्ट आवद्ध रहेको कम्पनीले जनाएको छ ।

प्रकाशित: १२ पुष २०७५, बिहीबार

तपाइको प्रतिक्रिया