नेपाल टेलिकमको प्रबन्ध निर्देशक बन्ने हो ? यी योग्यता पुरा गरेर दरखास्त पेश गर्नुस्

  • Technology Khabar | २९ मंसिर २०७५, शनिबार
नेपाल टेलिकमको प्रबन्ध निर्देशक बन्ने हो ? यी योग्यता पुरा गरेर दरखास्त पेश गर्नुस्
फाइल

काठमाडौं ।

काठमाडौं । सरकारले नेपाल टेलिकमको प्रबन्ध निर्देशकका लागि आवेदन माग गरेको छ ।
टेलिकमको प्रबन्ध निर्देशक पदका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले शनिबार सूचना प्रकाशित गर्दै दरखास्त माग गरेको हो ।

सार्वजनिक गरिएको दरखास्त सूचनामा आवेदकले वाणिज्य, व्यवस्थापन, अर्थशास्त्र, व्यापार प्रशासन, सूचना प्रविधि, इलेक्ट्रोनिक्स इन्जिनियरिङ, टेलिकम्युनिकेशन इन्जिनियरिङ, कम्प्यूटर इन्जिनियरिङ मध्ये कुनै विषयमा स्नातकोत्तर वा सो सरहको उपाधि हासिल गरेको हुनुपर्ने उल्लेख छ ।

त्यस्तै नेपाल दूरसञ्चार कम्पनी लिमिटेड वा सोही प्रकृतिका दूरसञ्चार सेवा प्रदायक संस्था वा नेपाल सरकारको पूर्ण वा आंशिक स्वामित्व भएका संस्था वा निकायको अधिकृत स्तरको पदमा कम्तीमा १५ बर्ष काम गरेको तर त्यस्तो अवधिमध्ये कम्तीमा ५ बर्ष वरिष्ठ अधिकृत वा व्यवस्थापकको पदमा काम गरेको अनुभवसहितको आवेदकले मात्र दरखास्त दिने पाउनेछ ।

सो सूचनाअनुसार आवेदकले टेलिकमको लागि आफ्नो व्यवसायीक योजना पनि पेश गर्नुपर्ने प्रावधान राखिएको छ । इच्छुक आवेदकले पुष ११ गतेसम्म आवेदन दिन सक्ने छन ।

मन्त्रिपरिषदको निर्णयअनुसार मन्त्रालयले सचिव महेन्द्रमान गुरुङ्गको संयोजकत्वमा नेपाल टेलिकमको प्रबन्ध निर्देशक छनोट गर्नका लागि ३ सदस्यिय सिफारिस गर्न गठित छनौट समिती गठन गरेको थियो ।सो समितिले सम्बन्धित उम्मेद्वारले पेश गरेको व्यावसायीक कार्ययोजना, न्त्यूनतम शैक्षिक योग्यता, अनुभव र अन्तर्वार्ताको मूल्याङ्कन गरि नियुक्तिको लागी मन्त्रालय समक्ष सिफारिस गर्नेछ ।

यसअघि गत साउन २९ गतेको मन्त्रीपरिषद बैठकले टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक कामिनी राजभन्डारीलाई जिम्मेबारी पुरा नगरेको भन्दै पदमुक्त गरेपछि कम्पनी नेतृत्व बिहिन रहँदै आएको छ । टेलिकमकै सूर्यभक्त पोखरेललाई मन्त्रालयले यसबीचमा कायम मुकायमको जिम्मेवारी दिएको थियो ।

notice-2075829

प्रकाशित: २९ मंसिर २०७५, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...