नेपाल टेलिकममा साधारणतर्फको शेयर हिस्सा बढाउने सरकारको तयारी, सरकारी शेयर घटाईँदै

  • Technology Khabar | २८ मंसिर २०७५, शुक्रबार
नेपाल टेलिकममा साधारणतर्फको शेयर हिस्सा बढाउने सरकारको तयारी, सरकारी शेयर घटाईँदै
फाइल

काठमाडौं ।

काठमाडौं । सरकारले नेपाल टेलिकममा सर्वसाधारणको शेयर हिस्सा बढाउने भएको छ । टेलिकममा सरकारको शेयरलाई कम गर्दै साधारण शेयरको रुपमा सर्वसाधारणलाई थप शेयर बेच्ने तयारी गरेको छ ।

हाल टेलिकममा सर्वसाधारणको केबल ४.४ प्रतिशत शेयर मात्र छ भने सरकारले अहिले ९१.४९ प्रतिशत शेयर हिस्सा आफ्नो खातामा राखेको छ ।

संचार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटाले बिहिबार मन्त्रिपरिषदको निर्णय बारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा टेलिकमको सर्वसाधारण तर्फको हिस्सा बढाउने तयारी गरेको जानकारी दिए । उनले अहिले टेलिकममा सर्वसाधारणको शेयर हिस्सा कम रहेको भन्दै त्यसलाई दोब्बरभन्दा बढिले बढाउन सकिने जानकारी दिए ।

‘टेलिकमको अहिले ४ अर्ब गत सालको भन्दा घटेको छ, यो जनताको सम्पत्ति हो । जहाँ जनताको ८ प्रतिशत सम्पत्ति छ, हामी छलफल गरिरहेका छौं, जनतामा पब्लिक शेयर बढाउनुपर्छ,’ संचार तथा सूचना प्रविधि मन्त्री बाँस्कोटाले भने ।

सरकारले सर्वसाधारणको शेयर स्वामित्त बढाएर २५ प्रतिशतसम्म पुर्याउन सकिने मन्त्री बाँस्कोटाको भनाई थियो ।

हाल टेलिकममा सरकारी र सर्वसाधारण बाहेक बाँकी करिब कर्मचारी र नागरिक लगानी कोषको शेयर रहेको छ ।

टेलिकमले हालको सर्वसाधारण तर्फको शेयर प्रिमियम मुल्य ६ सय रुपैयाँ तोकेर बोलकबोलमार्फत बिक्री गरेको थियो । टेलिकमको शेयर मूल्य दोस्रो बजारमा ७७३ रुपैयाँको हाराहारीमा रहेको छ ।

टेलिकममा रणनीतिक साझेदार भित्र्याउने तयारी स्वरुप केहि समयअघि टेलिकमको सम्पत्ति, दायित्व, वित्तीय अवस्था, समग्र अवस्थाबारे अध्ययन गर्न डीडीए सम्पन्न गरिएको थियो । बेलायती कम्पनी एनालाइसिस म्यासन इण्डियाले टेलिकमको डीडीए गरेको थियो । जसमा रणनीतिक साझेदारलाई पनि निश्चित शेयर दिने तयारी गरिएको थियो । हालसम्म यो बारेमा ठोस निर्णय हुन सकेको छैन् ।

प्रकाशित: २८ मंसिर २०७५, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार