Technology Khabar २७ मंसिर २०७५, बिहीबार
काठमाडौं ।
काठमाडौं । सञ्चार तथा सुचना प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटाले विदेशबाट नेपाल टेलिकमले खरिद गर्दै आएको इन्टरनेट ब्याण्डविथको मूल्य सात दिन भित्र घटाउने बताएका छन् ।
मन्त्रिपरिषदको सोमबारको बैठकले गरेका निर्णय सार्वजनिक गर्न बिहिबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै सञ्चार तथा सुचना प्रविधि मन्त्री बाँस्कोटाले अहिलेको ब्याण्डविथको रकम महंगो भएको भन्दै अझ घटाउने बताएका हुन् ।
एक हप्तामा टेलिकमले अहिले तिर्दै आएको ब्याण्डविथको मूल्यमा प्रतिएमबीपीएस सात डलरसम्म कम गर्ने उनले बताए ।
‘टेलिकमले खरिद गरेको प्रोटक्टेड ब्याण्डविथको मूल्य प्रतिएमबीपीएस ३० डलर रहेको थियो । त्यो घटाएर अहिले प्रतिएमबीपीएस १८ डलरमा झरेको छ, यसमा अझै पाँच÷६ अझ सात डलरसम्म कम गरेर खरिद गरिने छ,’ मन्त्रि बाँस्कोटाले भने ।
अहिले नेपाल टेलिकमले भारतको भारती एयरटेल लिमिटेड, सिंगापुरको टाटा कम्युनिकेशन इन्टरनेशनल, र चीनको चाइना टेलिकमसँग ब्याण्डविथ खरिद गरिरहेको छ । यी ३ फरक
कम्पनीसँग चार फरक/फरक मूल्यमा इन्टरेनट ब्याण्डविथ खरिद गरेको टेलिकमले मासिक रुपमा ४६ जीबी इन्टरनेट ब्याण्डविथ भित्र्याईरहेको मन्त्री बास्कोटाले जानकारी दिए ।
‘मूल्यका हिसाबले प्राइभेट कम्पनीभन्दा महंगो मूल्य तिर्नुपर्दा टेलिकमलाई ठुलो क्षति भइरहेको छ,’ मन्त्री बाँस्कोटाले भने, ‘यसलाई नियन्त्रण गर्न र आम नागरिकको लगानी रहेको संस्थालाई जोगाउनको लागि पनि यो कदम चाल्न आवश्यक छ ।’
उनले ब्याण्डविथ खरिद गर्दा हुने सम्झौता सुरुमै पाँच वर्षको लागि हुने गरेको र त्यसमा मूल्य समायोजनको बारेमा केहि उल्लेख नहुने गरेको भन्दै आश्चार्य व्यक्त गरे ।
विदेशमा मूल्य घट्दा यहाँ समायोजन गर्ने खालको सिस्टमको विकास भएको नभएको भन्दै त्यसलाई तोडेर अब विदेशमा ब्याण्डविथको मूल्य घट्दा यहाँ पनि घट्ने सिस्टम पनि विकास गर्ने उनले स्पष्ट पारे ।
मूल्य घटाएपछि टेलिकमको आम्दानी पनि वृद्धि हुने र थप सेवा बिस्तार गर्न सजिलो हुने मन्त्रीको भनाई थियो ।
प्रकाशित: २७ मंसिर २०७५, बिहीबार