समस्या भएको आइफोनको ब्याट्री सस्तोमा फेर्ने समय सकिँदै, नेपालमा पनि उपलब्ध छ योजना

Technology Khabar १७ मंसिर २०७५, सोमबार

काठमाडौं ।

काठमाडौं । यदि तपाईँ एप्पलको आइफोन प्रयोगकर्ता हुनुहुन्छ र फोनमा ब्याट्री समस्या आएको छ भने तपाईँले सस्तो मूल्यमा ब्याट्री फेर्ने समय निकै कम रहेको छ ।

गत वर्ष एप्पलको आइफोनहरुमा पुराना ब्याट्रीका कारण फोन बन्द हुने र स्लो हुने समस्या आएपछि कम्पनीले सस्तो मूल्यमा ब्याट्री फेर्ने योजना ल्याएको थियो । कम्पनीले प्रयोगमा रहेका आइफोन एसई, आइफोन सिक्सभन्दा माथिका आइफोन एक्स सम्मका मोडलहरुमा ब्याट्री समस्या देखिएमा सस्तो मूल्यमा नयाँ ब्याट्री दिईरहेको छ ।

कम्पनीले सस्तो मूल्यमा ब्याट्री फेर्ने योजना यहि डिसेम्बरको अन्तिम(पुस १६ गते) सम्म मात्र लागू गरेको छ । अर्थात यो योजना सकिन केहि दिन मात्र बाँकी छ । त्यसैले तपाईँको आइफोनमा पनि ब्याट्री समस्या आएको छ भने यो योजनाबाट लाभ उठाउन सकिन्छ ।

यदि तपाईँ पनि नयाँ ब्याट्री आइफोनमा चाहनुहुन्छ भने एप्पलले डिसेम्बरसम्ममा केबल २९ अमेरिकी डलर अर्थात करिब ३ हजार ५ सय रुपैयाँमा नै दिने नयाँ ब्याट्री राखेर लाभ उठाउन सक्नुहुनेछ । यसअघि एप्पलले यस्तो ब्याट्रीको शुल्क ७९ अमेरिकी डलर लिँदै आएको थियो ।

एप्पलले यो योजना अवधि सकिएपछि सन् २०१९ देखि अधिकांश पुराना ब्याट्रीहरु ४९ अमेरिकी डलरमा मात्र मर्मत गर्नेछ भने आइफोन एक्सको ब्याट्री फेर्नुपरेमा ६९ डलर लाग्नेछ ।

यदि तपाईँ यसभन्दा पछि आएका आइफोन मोडलहरु आइफोन एक्स एस, आइफोन एक्स एस म्याक्स, आइफोन एक्सआर प्रयोग गरिरहनुभएको छ भने तपाईँले कुनै चिन्ता लिनुपर्दैन् । किनकी यी फोनहरु अझैपनि कम्पनीको वारेन्टि अवधिमा प्रयोगमा रहेका छन् ।

नेपालमा के छ योजना ?

नेपालमा पनि आइफोनले सस्तो मूल्यमा नयाँ ब्याट्री प्रयोगकर्ताहरुलाई उपलब्ध गराईरहेको छ । नेपालमा आइफोनको आधिकारीक आयातकर्ता जेनेरेशन नेक्स्टले १० हजार रुपैयाँ तिरेर नयाँ ब्याट्री दिईरहेको छ । तर यस्तो अफर नेपाल भित्रै किनेका र भ्याट बिल भएका आइफोन प्रयोगकर्ताहरुका लागि मात्र उपलब्ध रहेको यसअघि नै कम्पनीले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको थियो ।

तपाईँले पनि नेपालमा नै आइफोन किन्नुभएको हो र त्यसमा ब्याट्री समस्या आएको छ भने जेनेरेशन नेक्स्टको कार्यालय शेर्पामलमा गएर नयाँ ब्याट्री किन्न सक्नुहुनेछ । तर कम्पनीले यो योजना कहिलेसम्म लागू भएको छ भन्ने जानकारी दिएको छैन् ।

यो पनि हेर्नुस्-

ब्याट्री समस्या भएको आइफोन नेपालमै जेनरेशन नेक्स्टले साटिदिने

प्रकाशित: १७ मंसिर २०७५, सोमबार

तपाइको प्रतिक्रिया