Technology Khabar १७ मंसिर २०७५, सोमबार
काठमाडौं ।
काभ्रेपलाञ्चोक । धुलिखेल नगरपालिकाले पर्यटकको सुविधाका लागि फ्रि वाइफाइ सेवा शुरु गरेको छ । आइतबार सरस्वती बजार परिसर (पार्क) बाट फ्रि वाइफाइ सेवा शुरु गरिएको हो ।
नगरप्रमुख अशोक ब्याञ्जूले नगरको अन्य १२ पर्यटकीय क्षेत्रमा फ्रि वाइफाइ सेवा विस्तार गरिने जानकारी दिए । ‘धुलिखेल पर्यटकीयस्थल हो, पर्यटक तथा स्थानीयवासीलाई सूचना प्रविधिमा पहुँच बढाउन यस्तो सेवा दिन थालेका हौँ,’ उनले भने ।
नगरप्रमुख ब्याञ्जूकाअनुसार एक वडाको एक स्थान तथा धुलिखेलका विभिन्न ऐतिहासिक चोकमा पर्यटक केन्द्रीत फ्रि वाइफाइ सेवा उपलब्ध गराइनेछ ।
फ्रि वाइफाइ कार्यक्रम अन्तर्गत पहिलो चरणमा नगरको सरस्वती बजार, भगवती मन्दिर परिसर, जिल्ला प्रशासन कार्यालय तथा नगरपालिका कार्यालय, खेल मैदान, सरकारी कार्यालय र बजार क्षेत्र, टुँडिखेल मनोरञ्जन पार्क, हजार सिँढी क्षेत्र देवीस्थान मन्दिरसम्म, बिपी मार्ग चोक र नारायणस्थान मन्दिर वरिपरि फ्रि वाइफाइ जडान गरिने भएको छ ।
नगरपालिकाकाअनुसार एक पटकमा एक सय जनासम्मले प्रयोग गर्न सक्ने गरी वाइफाइको क्षमता विस्तार गरिने छ ।
प्रकाशित: १७ मंसिर २०७५, सोमबार