त्रिभुवन विश्वविद्यालय ‘निःशुल्क वाइफाइ’ क्षेत्र घोषणा हुने, द्रूतगतिमा अप्टिकल फाइबर बिछ्याईँदै

  • Technology Khabar | ८ मंसिर २०७५, शनिबार
त्रिभुवन विश्वविद्यालय ‘निःशुल्क वाइफाइ’ क्षेत्र घोषणा हुने, द्रूतगतिमा अप्टिकल फाइबर बिछ्याईँदै

काठमाडौं ।

काठमाडौँ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अब ‘निःशुल्क वाइफाइ’ क्षेत्र घोषणा हुने भएको छ । त्रिविलाई सूचना प्रविधिसँग जोड्नका लागि ‘निःशुल्क वाइफाइ’ क्षेत्र घोषणा गर्न लागिएको हो । यसका लागि आवश्यक पर्ने सम्पूर्ण कार्य अन्तिम चरणमा पुगेको छ ।

सूचना प्रविधिको प्रयोग गरेर शिक्षा प्रदान गर्न र विद्यार्थीलाई सूचनामा सहज पहुँच पुर्याउनका लागि त्रिविलाई पहिलोपटक निःशुल्क वाइफाइ क्षेत्र घोषणा गर्न थालिएको त्रिवि योजना निर्देशनालयका कार्यकारी निर्देशक प्रा डा ऋदीशकुमार पोखरेलले जानकारी दिए ।

‘त्रिविका हरेक कामकारवाही सूचना प्रविधिमार्फत गर्नका लागि निःशुल्क वाइफाइ क्षेत्र बनाउन लागिएको हो,’ उनले भने, ‘अब त्रिविका हरेक क्रियाकलाप सूचना प्रविधिबाट हुन्छ ।’

त्रिविलाई कागजविहीन बनाउन र विद्यार्थीलाई सूचना प्रविधि प्रयोग गरेर शिक्षा प्रदान गर्नका लागि वाइफाइ क्षेत्र बनाउन थालिएको निर्देशक प्राडा पोखरेलले बताए। उनकाअनुसार अबको एक महीनाभित्र त्रिविलाई निःशुल्क वाइफाइ क्षेत्र घोषणा गरिने छ ।

यसका लागि त्रिविले नेपाल टेलिकमसँग सम्झौता गरिसकेको छ । अहिले त्रिवि क्षेत्रभित्र सवै स्थानका वाइफाइका लागि अप्टिकल फाइबर बिछ्याउने कामसमेत द्रूतगतिमा भइरहेको छ । अप्टिकल फाइबर बिछ्याउने काम एक महीनाभित्र सकिने र त्यसपछि ‘निःशुल्क वाइफाइ’ क्षेत्र घोषणा गरिने छ । त्रिविलाई सूचना प्रविधिमैत्री बनाउनका लागि १० करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

‘अब इन्टरनेटमा खोजेर पनि विभिन्न विषयको अध्ययन गर्नुपर्दछ,’ उनले भने, ‘विद्यार्थीलाई पनि पठनपाठनमा सजिलो होस् भनेर इन्टरनेट आवश्यक पर्ने भएकाले निःशुल्क वाइफाइ बनाउन थालिएको हो ।’

विद्यार्थीले त्रिविमा गएर आफूलाई अनुकूल हुने पाठ्यक्रम सामग्री, पाठ्यक्रम र अन्य सामग्री खोज्न सक्नेछन् ।

निश्चित क्षेत्रसम्म वाइफाइ हुनेछ र त्रिविको क्षेत्रमा प्रवेश गर्नासाथ सबैको कम्युटर, ल्याबटप र मोबाइलमा निःशुल्क इन्टरनेट हुनेछ । विद्यार्थीले त्रिविको जुनसुकै ठाउँमा बसेर पनि आफूलाई चाहिएको पाठ्य सामग्री इन्टरनेटबाट पढ्न सक्ने छन् ।

पहिलो चरणमा त्रिविको केन्द्रीय क्याम्पसमा निःशुल्क वाइफाइ घोषणा गरेपछि विस्तारै देशभरिका आफ्ना आंगिक क्याम्पसमा यो योजना लागू गर्ने लक्ष्य रहेको निर्देशक प्राडा पोखरेलले जानकारी दिए । उनका अनुसार त्रिविले दोस्रो चरणमा उपत्यकाका आंगिक र तेस्रो चरणमा देशभरिका आंगिक क्याम्पसमा यो योजना लागू गर्नेछ ।

स्मार्ट बोर्ड प्रयोगमा

त्रिविले केन्द्रीय क्याम्पसलाई सूचना प्रविधियुक्त माध्यमबाट शिक्षा दिनका लागि मार्कर र बोर्डको सट्टामा ‘स्मार्ट बोर्ड’ समेत प्रयोगमा ल्याएको छ । शिक्षा, व्यवस्थापन र विज्ञान सङ्कायमा स्मार्ट बोर्डको शुरुआत गरेको त्रिविले जनाएको छ ।

प्रकाशित: ८ मंसिर २०७५, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Yango Ride introduces Free In-Ride insurance for drivers and passengers in Nepal

  • Technology Khabar
  • ८ मंसिर २०७५, शनिबार