
काठमाडौं ।
काठमाडौं । एप्पलको आइफोन एक्स अपडेट गरिरहेको बेलामा पड्किएको छ । आइफोन एक्स प्रयोगकर्ताले नयाँ सफ्टवेयर अपडेट गरिरहेको बेलामा एप्पलको आइफोन एक्स (iPhone X) पड्किएको हो ।
यो घट्ना अमेरिकाको वासिंगटनमा घटेको हो जहाँ एक प्रयोगकर्ताले आफूले १० महिनाअघि किनेको आइफोन एक्स सफ्टवेयर अपडेट गरिरहेको बेलामा पड्किएको दाबी गरेका हुन् ।
राहेल मोहम्मद नाम गरेका आइफोन एक्सका धनी तथा प्रयोगकर्ताले सफ्टवेयर आइओएस १२.१ भर्सन अपडेट गरिरहेको बेलामा सो आइफोन पड्किएको बताईएको छ ।
रिपोर्टकाअनुसार सो आइफोन एक्समा आइओएस १२.१ भर्सन अपडेट भईरहेको थियो र सो आइफोन चार्जमा राखिएको थियो।
‘फोनमा अपडेट सकियो र तत्काल नै फोनबाट कालो धुँवा आउन थाल्यो आगो बल्यो,’ राहेल मोहम्मदले भने ।
सो प्रयोगकर्ताले एप्पलको आधिकारिक रुपमा बण्डलमा नै आउने लाइटिंग केबल र वाल एडप्टरमार्फत आइफोन एक्स चार्ज गरेको दाबी गरेको छ ।
‘जतिबेला मैले फोन समाएँ त्यसबेला निकै तातो थियो र तत्काल मैले फोन फ्याँले । त्यसपछि फोनबाट धुवाँ आउन थाल्यो,’ उनले भने ।
आइफोन एक्स प्रयोगकर्ता मोहम्मद एप्पलको सम्पर्कमा पुगेका छन र कम्पनीले सो बारेमा थप अनुसन्धान गर्नका लागि सो फोन पठाउन भनेको छ ।
एप्पलले आइफोन एक्स पड्किएको र लागेको आगोको बारेमा प्रयोगकर्ताले ट्विट गरेपछि त्यसको बारेमा छानबिन गर्ने बताएको छ । त्यस्तै एप्पलले यस्तो गतिबिधि पक्कैपनि नहुनुपर्ने दाबी गर्दै त्यस समस्याको समाधान छिटै गरिने बताएको छ ।
एप्पलको आइफोन एक्स युनिट सबैभन्दा धेरै बिक्री भएको आइफोनमध्येमा पर्दछ, जून हालसम्म सुरक्षित फोनको रुपमा रहँदै आएको छ ।
यस्तै पड्किने घट्ना सामसंगको ग्यालेक्सी नोट सेभेनमा भएको थियो र अधिकांश उत्पादन कम्पनीले फिर्ता लिएको थियो ।
प्रकाशित: २९ कार्तिक २०७५, बिहीबार