नयाँ रुपमा आयो नेपाल टेलिकमको मोबाइल एप, अर्को मोबाइलमा ‘प्याकेज गिफ्ट’ पठाउन सकिने

  • Technology Khabar | २९ कार्तिक २०७५, बिहीबार
नयाँ रुपमा आयो नेपाल टेलिकमको मोबाइल एप, अर्को मोबाइलमा ‘प्याकेज गिफ्ट’ पठाउन सकिने
फाइल

काठमाडौं ।

काठमाडौं । नेपाल टेलिकमले आफ्नो मोबाइल एप ‘नेपाल टेलिकम’ लाई परिमार्जन गरी नयाँ रूपमा प्रस्तुत गरेको छ ।

नयाँ एपमार्फत नेपाल टेलिकमका जिएसएम, सिडिएमए, पिएसटिएन र एडीएसएललगायतका सेवाको बारेमा जानकारी प्राप्त गर्न सकिने टेलिकमका प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिईन् ।

पछिल्लो समयमा विभिन्न प्रकारका प्याकेज खरीद गरी सेवा उपभोग गर्ने प्रचलन बढ्दै गएकाले विशेष गरी त्यस्ता प्याकेज खरीद गर्नका लागि यो एपबाट सहज हुने टेलिकमको भनाइ छ ।

यो एपमा लग इन गर्नासाथ मोबाइलमा भएको ब्यालेन्स रकम तथा नेपाल टेलिकमको प्याकेज खरीद गरेको भए सो बारे जानकारी प्राप्त गर्न सकिनेछ ।

विभिन्न सेवाको लागि आवश्यक रकम रिचार्ज गर्न र जिएसएम प्रिपेडबाट ब्यालेन्स ट्रान्सफर गर्नसमेत यसबाट सहज हुनेछ ।

पिनकोड राखेर वा रिचार्ज कार्ड स्क्यान (स्क्यान एन्ड्रोइडमा मात्र हुने) गरेर पनि यसबाट रिचार्ज गर्न सकिन्छ ।

यो एपमार्फत आफ्नो मोबाइलबाट नेपाल टेलिकमको कुनै अर्को मोबाइलमा विभिन्न प्याकेज गिफ्ट (उपहार) दिन पनि सकिने छ ।

साथै रिचार्ज कार्डबाट कम्पनीका विभिन्न सेवाको बिल भुक्तानी पनि यही एपमार्फत गर्न सकिनेछ ।

कम्पनीको फेसबुकलगायतका सोसल मिडियासमेत यहीबाट प्रयोग गर्न सकिनेछ ।

प्रवक्ता वैद्यका अनुसार यस एपबाट १००, १०१, १०२ जस्ता इमर्जेन्सी नम्बर डायल गरी आवश्यक सेवा लिनुका साथै १९७, १४९८ आदि नम्बरमा डायल गरी कम्पनीका विभिन्न सेवाका बारेमा सोधपुछ गर्न पाइने छ ।

उक्त एपमा कम्पनीले उपलब्ध गराउँदै आएका सम्पूर्ण सेवाको महशुलदरबारे जानकारी लिन पनि सकिने व्यवस्था गरिएको छ ।

गुगल प्ले स्टोर तथा एप्पल एप स्टोरबाट ‘नेपाल टेलिकम’ एप डाउनलोड गरी नेपाल टेलिकमको मोबाइल नम्बरमार्फत रजिष्टर गरेपछि यो एप चलाउन सकिन्छ ।

गुगल प्ले स्टोरबाट ‘नेपाल टेलिकम’ एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।

एप्पल एप स्टोरबाट ‘नेपाल टेलिकम’ एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।

प्रकाशित: २९ कार्तिक २०७५, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...