Technology Khabar १४ कार्तिक २०७५, बुधबार
काठमाडौं ।
काठमाडौँ । नेपाल दूरसंचार प्राधिकरणले दूरसंचार क्षेत्रको रणनीतिक योजना तयार गर्ने भएको छ । दूरसंचार प्राधिकरणले इन्टरनेशनल टेलिकम्यूनिकेसन यूनियन(आईटियू)को प्राविधिक सहयोगमा नेपालको दूरसंचार क्षेत्रको दिर्घकालिन रणनीतिक योजना तयार पार्ने भएको हो ।
हाल सो रणनीतिक योजनाबारे आईटियूका परामर्शदाता तथा विज्ञहरुले नेपालमा सरोकारबाला निकायहरुसँग छलफल शुरु गरिसकेको र सोहि आधारमा आगामी दिनमा रणनीति बनाईने प्राधिकरणले जानकारी दिएकोछ ।
प्राधिकरणका प्रवक्ता मिन प्रसाद अर्यालले दूरसंचारको दिर्घकालिन रणनीति बनाउन सबैसँग छलफल शुरु गरिएको जानकारी दिए । ‘आईटियूका परामर्शदाता तथा विज्ञहरु नेपाल आएका छन्, उनीहरुले क्रमशः सरोकारबालाहरु सबैसँग छलफल गरिरहेका छन् । रणनीतिमा दूरसंचार क्षेत्रका सम्पूर्ण विषयहरु समेटिने छन्,’ प्रवक्ता अर्यालले टेक्नोलोजीखबरसँग भने ।
उनकाअनुसार समग्र दूरसंचार क्षेत्रको सूधार, नयाँ प्रविधिहरुको प्रयोग, वर्तमान अवस्था, नेपालको आवश्यकता जस्ता विषयहरुलाई ध्यानमा राखेर नयाँ रणनीति तयार पारिनेछ । त्यस्तो रणनीति ५ वर्षे हुने उनको भनाई छ ।
आईटियूका परामर्शदाताहरुले नयाँ रणनीति बनाउन सहयोग गर्ने भएपनि त्यस्तो रणनीतिको लागि आवश्यक कार्यहरु भने दूरसंचार प्राधिकरणले नै जिम्मा लिनेछ । सोहि रणनीतिको आधारमा नेपालको दूरसंचार क्षेत्रको विकास र बिस्तार गर्न आधार तयार हुने प्राधिकरणको भनाई छ ।
प्रकाशित: १४ कार्तिक २०७५, बुधबार