Technology Khabar १४ आश्विन २०७५, आईतवार
काठमाडौं ।
काठमाडौ । बैंक तथा वित्तीय संस्थाको आर्थिक स्वास्थ्य, ऋण प्रवाह, निक्षेप सङ्कलनलगायत वित्तीय विवरण अब ‘इन्टरनेट’को माध्यमबाट सर्वसाधारणले हेर्न पाउने भएका छन् ।
केन्द्रीय बैंकले देशभरका बैंक तथा वित्तीय संस्थाको आर्थिक अवस्था, शाखारहित बैंक तथा वित्तीय संस्थाका कारोबारको अनुगमन पनि सहज रूपमा गर्नसक्ने भएको छ । नेपाल वित्तीय समावेशीकरण ‘पोर्टल’ को शुरुवातसँगै वित्तीय सेवा प्रदायक, वित्तीय क्षेत्रका साझेदार एवं सरोकारवाला र त्यसमा सर्वसाधारणको पहुँचबारे जोसुकैले जानकारी लिन सहज भएको हो ।
आइतबार एक कार्यक्रमबीच नेपाल वित्तिय समावेशीकरण पोर्टल (Nepal Financial Inclusion Portal) सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले यो पोर्टलले नियामक र सरकारले तुरुन्त हस्तक्षेप गर्न सक्ने गरी ग्रामीण क्षेत्रमा वित्तिय पहुँचबारे तथ्यांक र सूचना दिने बताए ।
‘नीति निर्माताहरुले यो पोर्टल हेरेर वित्तिय रणनीति र नीतिहरु निर्माण गर्न सक्ने भएकाले यसको ठूलो महत्व छ,’ उनले भने ।
सो पोर्टलले वाणिज्य बैंक, विकास बैंक, वित्त कम्पनी, लघुवित्त कम्पनी तथा गैर बैंकिङ्ग भुक्तानी सेवा प्रवाह गर्नेहरुलाई नियमितरुपमा तिनीहरुका तथ्यांकबारे सूचना दिनसक्ने व्यवस्था गरेको छ ।
नेपाल राष्ट्र बैंकले संयुक्त राष्ट्रसंघीय पूँजी विकास कोष (यूएनसीडीएफ)को सहयोगमा वित्तिय पहुँचसम्बन्धि यथार्थ सूचना दिन यो पोर्टल तयार पारेको हो । यो पोर्टलको मुख्य काम वित्तिय समावेशीकरणको नक्शांकन गर्नु र विश्लेषणात्मक प्रतिवेदनका अधारमा तथ्यांकमा आधारित नीतिगत हस्तक्षेपलाई सहयोग गर्नु हो ।
प्रकाशित: १४ आश्विन २०७५, आईतवार