नेपालमा मोवाइल फोनको पहुँच र प्रयोगको सर्वे गर्ने आफ्टर एक्सेसले पायो ‘इक्वेलसाईनटेक’ पुरस्कार

Technology Khabar ११ आश्विन २०७५, बिहीबार

काठमाडौं ।

न्यूयोर्क । नेपालसहित विश्वका १८ देशमा सूचना तथा संचार प्रविधिको पहुँच र प्रयोग सम्बन्धी सर्वेक्षण गर्ने अन्तर्राष्ट्रिय संस्था आफ्टर एक्सेसले अन्तर्राष्टिय पुरस्कार जित्न सफल भएको छ ।

आफ्टर एक्सेसलाई संयुक्त राज्य अमेरिकाको न्यूयोर्कमा सेप्टेम्बर २२ मा इक्वेलसाईनटेक पुरस्कारको अनुसन्धान वर्गको पुरस्कारको विजेता घोषणा गरिएको हो । आफ्टर एक्सेस अन्तर्गत नेपालको स्थलगत अध्ययन सन् २०१८ को अप्रिल र मे महिनामा सम्पन्न भएको थियो ।

विश्वस्तरको पुरस्कार प्राप्त गरेपछि एसिया प्रशान्त क्षेत्रमा कार्यरत क्षेत्रीय सूचना प्रविधि थिङ्क ट्याङ्कका प्रमुख कार्यकारी अधिकृत तथा आफ्टर एक्सेस अनुसन्धानको प्रमुख अनुसन्धानकर्ता हेलानी गालपायाले खुसी ब्यक्ति गर्दै भनिन्, ‘नीति निर्माता तथा उद्योगसँग सम्बन्धित सरोकारवालाहरुले नेपालमा सूचना प्रविधिको पहुँच र प्रयोगमा लैंगिक विभेद घटाउनका लागि आफ्ना नीति र कार्यहरू यो तथ्याङ्कमा आधारित भएर गर्नसक्नेछन् ।’

नेपालमा गरिएको सर्भेको विशेष नतिजा चाँडै काठमाडौमा प्रकाशन गरिने उनले जानकारी दिईन् ।

आफ्टर एक्सेस ग्लोबल साउथका १८ वटा देशका ३८ हजार ५ घर तथा व्यक्तिहरुसँगको अन्तर्वार्तामा आधारित राष्ट्रियस्तरमा गरिएको एउटा श्रृङ्खलाबद्ध सर्वेक्षण हो । यस अनुसन्धानले मोवाइल फोन तथा इन्टरनेटको पहुँच तथा प्रयोग सम्बन्धी मुख्य मुद्दाहरुलाई समेटेको छ । यस श्रृंखलाका सर्भेमा सवै देशमा एकै विधि अपनाइएको बताइएको छ ।

संकलित तथ्याङ्कले नेपालमा मात्र नभएर बंगलादेश, कम्बोडिया, भारत, म्यानमार, पाकिस्तान र सम्पूर्ण ग्लोबल साउथ मुलुकहरुमा सूचना प्रविधिको पहुँच तथा प्रयोगमा लैङ्गिक असमानताको ठोस प्रमाण प्रस्तुत गर्दछ ।

आफ्टर एक्सेस ग्लोबल साउथमा मोबाइल फोन र ईन्टरनेट पहुँच तथा प्रयोग सम्बन्धी विस्तृत डाटाबेस हो । नेपालमा आफ्टर एक्सेस परियोजनामा लर्न एसियासँग स्थानीय साझेदारको रुपमा सेन्टर फर ल एण्ड टेक्नोलोजी र इन्टरनेट सोसाईटी नेपाल रहेको थियो ।

सर्वेक्षणको नेपाल विशेष प्रतिवेदन अक्टोबर ४ मा काठमाडौंमा सार्वजनिक गरिने तयारी भएपनि केहि ढिला हुने इन्टरनेट सोसाइटि नेपालका वरिष्ठ उपाध्यक्ष रोमकान्त पाण्डेले जानकारी दिए । नेपालमा मोबाइलको प्रयोग सबै क्षेत्रमा कस्तो अवस्थामा छ भन्ने जानकारी यो सर्वेक्षणमा समेटिएको उनले बताए ।

प्रकाशित: ११ आश्विन २०७५, बिहीबार

तपाइको प्रतिक्रिया