चितवनको रत्ननगरमा निःशुल्क वाईफाई सेवा शुरु, नगरपालिकालाई प्रविधिमैत्री बनाउने उद्देश्य

Technology Khabar १० आश्विन २०७५, बुधबार

काठमाडौं ।

काठमाडौं। चितवनको रत्ननगर नगरपालिकाले मंगलवारदेखि विभिन्न स्थानमा निःशुल्क वाईफाई सेवा शुरु गरेको छ ।

सर्वसाधारणलाई इन्टरनेटको पहुँचमा पुर्याउन नगरका मुख्यमुख्य बजार क्षेत्रमा निःशुल्क वाईफाई सेवा शुरु गरेको नगरप्रमुख नारायण वनले जानकारी दिए । उनले नगरपालिकालाई प्रविधिमैत्री बनाउने उद्देश्यअनुरुप वाईफाई सेवा शुरु गरिएको बताए ।

पहिलो चरणमा रत्ननगरको सौराहा, कृष्णप्रणामी मन्दिर, बसपार्कलगायतका स्थानमा वाईफाई सेवा शुरु गरिएको छ । इन्टरनेट सेवा प्रदायक कम्पनी टेकमाइन्डस् नेटवर्कसँगको सहकार्यमा शुरु भएको वाईफाई सेवाको प्रतिनिधिसभा सदस्य सुरेन्द्र पाण्डेले आज उद्घाटन गरे ।

सो अवसरमा उनले नगरपालिकाले सूचना प्रविधिलाई प्रयोग गर्ने प्रयास गरेको भन्दै इन्टरनेट सेवाबाट सर्वसाधारणले धेरै कुरा सिक्न सकिने बताए।

इन्टरनेटको सही सदुपयोग हुनसके बालबालिकाको क्षमता विकासमा ठूलो सहयोग पुग्ने पनि उनले बताए ।

प्रदेश नं ३ का प्रदेशसभा सदस्यद्वय कृष्ण खनाल र कञ्चन खनालले नगरपालिकाले सूचना र प्रविधिको क्षेत्रमा गरेको प्रयास महत्वपूर्ण रहेको धारणा व्यक्त गरे ।

प्रकाशित: १० आश्विन २०७५, बुधबार

तपाइको प्रतिक्रिया