
काठमाडौं ।
काठमाडौं । ईजी एस्योरेन्स प्रा.लि. र अजोड इन्स्योरेन्स लिमिटेडबीच मोबाइल फोनमा एस्योरेन्स सेवा सुविधा दिने उद्धेश्यका साथ सहकार्य भएको छ ।
ईजी एस्योरेन्स प्रा.लि.का अध्यक्ष संजित पौडेल र अजोड इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्री बीच मोबाइल फोनमा एस्योरेन्स सेवा प्रदान गर्ने विषयक सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
सो सम्झौतापछि ईजी एस्योरेन्स प्रा.लि.ले मोबाइल प्रयोगकर्ताहरुको मोबाइल झरेर फुटेमा, मोबाइलमा पानी पसेमा वा मोबाइल चोरी भएमा एस्योरेन्स सेवा दिएका प्रयोगकर्ताहरुलाई क्षतिपूर्ति प्रदान गरिने छ । त्यस्तै आगलागीबाट मोबाइल नष्ट भएमा पनि त्यसको क्षतिपूर्ति दाबी गर्न सकिने कम्पनीले जानकारी दिएको छ ।
ईजी एस्योरेन्सले सो सेवा लिएका मोबाइल प्रयोगकर्ताहरु कुनैपनि प्रकारको दुर्घटनामा परेर मृत्यु भएमा सो बापत एक लाख रुपैयाँको दुर्घटना बीमा समेत दिने उल्लेख गरेको छ ।
मोबाइल फोन एस्योरेन्स सेवा अन्तरगत मोबाइल ग्राहकहरुले न्यूनतम १५ सय भन्दा माथिका कुनैपनि ब्राण्डका मोबाइलहरुमा यो सेवा लिन सक्ने र न्यूनतम ४९ रुपैयाँ तिरेर १ वर्षसम्म मोबाइल फोन एस्योरेन्स सेवा उपयोग गर्न सक्नेछन् । एस्योरेन्सको लागि लाग्ने शुल्क भने मोबाइलको मूल्यअनुसार फरक फरक हुने कम्पनीले जानकारी दिएको छ ।
यस बाहेक कम्पनीले कुनैपनि मोबाइल खरिदकर्तालाई कम्पनीले दिने भन्दा थप मोबाइल तथा सफ्टवेयरमा १ वर्षको अतिरिक्त वारेन्टी प्रदान गर्ने बताईएको छ ।
सेवा उपयोग गर्न चाहने मोबाइल ग्राहकहरुले मोबाइल खरिद गरेको सात दिन भित्र मोबाइल किनेको पसलबाट वा अन्य कुनै मोबाइल पसलबाट सेवा लिन सक्नेछन भने सात दिनपछि ईजी एस्योरेन्स प्रा.लि.को आधिकारिक सर्भिस सेन्टरबाट मात्र यो सेवा लिन सकिने कम्पनीका अध्यक्ष संजित पौडेलले जानकारी दिए ।
उनकाअनुसार मोबाइल फोन एस्योरेन्स सेवा देशभरीका आफ्ना आधिकारिक एजेन्टहरुमार्फत प्रदान गरिरहेको छ र कुनै पनि ब्राण्डका मोबाइल किनेका ग्राहकहरुले कुनैपनि एजेन्टमार्फत मोबाइल फोन एस्योरेन्स सेवा लिन सक्नेछन् ।
सो कम्पनीसँग आबद्ध ईजी मोबाइल केयर प्रालिले यसअघि कम्पनीले नेपालमा नै पहिलो पटक स्मार्टफोनहरुको डिस्प्ले/स्क्रीन फुटे बापत फुटेको डिस्प्ले निशुल्करुपमा फेरिदिने योजना संचालन गरिरहेको छ भने रु.१ तिरेपछि मासिक किस्ताबन्दीमा स्मार्टफोनहरु उपलब्ध गराउने योजना समेत संचालन गर्दै आईरहेको जनाएको छ ।
प्रकाशित: १ आश्विन २०७५, सोमबार