
काठमाडौं ।
काठमाडौं । राजधानी काठमाडौदेखि भारतको बिहार राज्यका मोतिहारी, मुजफ्फरपुर, पटना, बोधगयाका लागि सिधा यातायात सेवा शुरु भएको छ ।
बिहार राज्य पथपरिवहन निगम र स्वयम्भू मञ्जुश्री यातायात प्रा.लि.को सहकार्यमा काठमाडौदेखि पटना बोधगयासम्म सेवा सञ्चालन भएको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ र नेपालका लागि भारतीय राजदुत मञ्जीवसिंह पुरीले बिहिबार संयुक्तरूपमा हरियो झण्डा फहराइ बसलाई विधिवत रूपमा गन्तव्यमा पठाइ सेवाको शुरु गरे ।
यसैगरी जनकपुरदेखि पटनाका लागि ३१ गते आइतबारदेखि सिधा बससेवा सुरू हुनेछ । सोही कार्यक्रमको उद्घाटन प्रदेश नं.२ का मूख्यमन्त्री लालबाबु राउतले गर्ने कार्यक्रम रहेको कम्पनीले जानकारी दिएको छ ।
स्वयम्भू मञ्जुश्री यातायात प्रा.लि.ले भारतका नयाँ क्षेत्रमा यातायात सञ्चालन गरेसँगै अनलाइनबाट बस टिकट काट्न सकिने सेवाको समेत सुरूवात गरेको छ । यात्रीहरूले www.manjushreeyatayat.com.np मार्फत् अनलाइन टिकट काट्न सक्ने बताईएको छ ।
यसैगरी बससेवाको वेबसाइट बससेवा डटकम www.bussewa.com तथा बससेवाको मोबाईल एप्स, इसेवाको वेबसाइट तथा मोबाईल एप्लिकेशनबाट समेत टिकट काट्न सकिनेछ । इसेवा एकाउन्ट नभएका यात्रुले आफ्नो टोलछिमेकमा रहेका इसेवाका जोन तथा पोइन्टबाट टिकट काट्न सक्नेछन् । साथै भविष्यमा आइएमइ पे, इप्रभु तथा एनआइसी एसिया बैंकमार्फत् समेत टिकट काट्न सकिने कम्पनीले जनाएको छ ।
प्रकाशित: २८ भाद्र २०७५, बिहीबार