
काठमाडौं ।
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले असोज १५ देखि लागू हुने गरि वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (एफइआईएमईएस) शुरु गर्ने भएको छ।
वैदेशिक रोजगारीसँग सम्वन्धित सूचना तथा सेवामा नागरिकको सहज पहुँचका लागि यो प्रणाली लागू गर्न लागिएको मन्त्रालयले जनाएको छ। यसका साथै मन्त्रालयले मोबाइल एप पनि संचालनमा ल्याएको छ ।
श्रम मन्त्री गोकर्ण बिष्टले पत्रकार सम्मेलन गरी वैदेशिक रोजगारी सम्बन्धी सबै सूचना प्राप्त हुने मोबाइल एप सार्वजनिक गरे ।
वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउन एप्स ल्याएको मन्त्री विष्टले बताए ।
एप्सबाट डिमाण्ड लेटरलाई दुताबासका कर्मचारीले प्रमाणित गरेर श्रम कार्यालयमा पठाउनेछन् । नयाँ प्रणाली तथा मोबाइल एपबाट सूचना र सेवालाई प्रविधिमैत्री ढंगले विभिन्न जानकारीहरु सरोकारवाला निकाय तथा व्यक्तिसमक्ष पुर्याई वैदेशिक रोजगार व्यवस्थित गर्न सकिने मन्त्रालयको भनाई छ।
सार्वजनिक गरिएको मोबाइल एपबाट वैदेशिक रोजगार व्यवसायीले लिएको सेवा शुल्क, स्वास्थ्य परिक्षण गर्ने डाक्टर लगायतका विवरण पनि जानकारी लिन सकिनेछ । सोमबारबाट सुरु भएको एप्सको पुर्ण कार्यान्वयन भने असोज १५ गतेदेखि मात्रै हुनेछ ।
Feims नामको एप्स डाउनलोड गरेर वैदेशिक रोजगारी सम्बन्धी जानकारी लिन सकिने मन्त्रालयले स्पष्ट पारेको छ ।
नयाँ प्रणालीको प्रयोगले वैदेशिक रोजगारीका लागि गन्तव्य मुलुक जाने र स्वदेश फिर्ता हुने लगायतको अद्यावधिक तथ्याङ्क उपलव्ध हुनेछ।
प्रकाशित: २५ भाद्र २०७५, सोमबार