Technology Khabar ११ भाद्र २०७५, सोमबार
काठमाडौं ।
काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले गत आर्थिक वर्ष २०७४/७५मा फ्रिक्वेन्सी प्रयोगकर्ता कम्पनीहरुबाट ३ अर्ब रुपैयाँ भन्दा बढि फ्रिक्वेन्सी दस्तुर उठाएको छ । प्राधिरकणकाअनुसार २ जी, थ्रीजी र फोरजीको फ्रिक्वेन्सी, जीएमपीएस(स्याटेलाइट फोन) तथा भिस्याट सेवाको फ्रिक्वेन्सीलगायतका सेवा प्रयोगबापत १० कम्पनीबाट फ्रिक्वेन्सी दस्तुर उठाएको हो ।
फ्रिक्वेन्सी दस्तुर बुझाउनेमध्ये सबैभन्दा धेरै दस्तुर एनसेल प्रालिले बुझाएको छ, सो कम्पनीले १ अर्ब ४१ करोड ४६ लाख ६३ हजार ३३ रुपैयाँ ९३ पैसा फ्रिक्वेन्सी बापत प्राधिकरणलाई सो आवमा तिरेको तथ्यांकमा देखिन्छ ।
धेरै दस्तुर तिर्ने कम्पनीको सूचीको दोस्रो स्थानमा भने नेपाल दूरसंचार कम्पनी लिमिटेड(नेपाल टेलिकम) रहेको छ, जसले १ अर्ब २१ करोड ४१ लाख ८३ हजार ४ सय ८५ रुपैयाँ १८ पैसा फ्रिक्वेन्सी दस्तुर तिरेको छ ।
तेस्रो स्थानमा भने हाल बन्द जस्तै रहेको टेलिकम कम्पनी यूनाईटेड टेलिकम प्रालि रहेको छ, जसले फ्रिक्वेन्सी दस्तुर बापत सो आवमा २० करोड ४ लाख २ हजार ८ सय २८ रुपैयाँ प्राधिकरणलाई तिरेको छ ।
धेरै फ्रिक्वेन्सी दस्तुर बुझाएको आधारमा हेर्दा चौथो स्थानमा गत आवदेखि फोरजी सेवा शुरु गरेको स्मार्ट टेलिकम प्रालि रहेको छ, जसले प्राधिकरणलाई १९ करोड ७ लाख ३७ हजार ७ सय ७ रुपैयाँ ३२ पैसा फ्रिक्वेन्सी दस्तुर बापत भुक्तानी गरेको छ ।
हाल संचालनमा नरहेको सिजी कम्यूनिकेसन्स प्रालिले पनि फ्रिक्वेन्सी दस्तुरबापत प्राधिकरणलाई सो आवमा रकम तिरेको छ, सो कम्पनीले फ्रिक्वेन्सी दस्तुर बापत प्राधिकरणलाई ५ करोड ८५ लाख ८४ हजार ३ सय ७७ रुपैयाँ ६० पैसा तिरेको छ ।
तर संचालनमा हाल नरहेको अर्को कम्पनी नेपाल स्याटेलाइट टेलिकम प्रालिले भने सो आवमा फ्रिक्वेन्सी दस्तुर बापत रकम तिरेको छैन् ।
यसबाहेक अरु बाँकी कम्पनीहरुले भीस्याट प्रयोग बापतको फ्रिक्वेन्सी दस्तुर रकम प्राधिकरणलाई बुझाएका छन जसमा बैंक तथा जलविद्युत कम्पनीहरु छन् ।
सबै कम्पनीहरुले सो आवमा कुल ३ अर्ब ७ करोड ८९ लाख ३० हजार ३ सय ९४ रुपैयाँ ३ पैसा फ्रिक्वेन्सी दस्तुर प्राधिकरणलाई बुझाएको तथ्यांकमा उल्लेख छ ।
प्रकाशित: ११ भाद्र २०७५, सोमबार