
काठमाडौं ।
काठमाडौं । तपाईँ आफ्नो स्मार्टफोन कत्तिको सफा गरिरहनुहुन्छ ? अधिकांश मानिसहरुलाई स्मार्टफोनलाई नियमित रुपमा सफा गर्नुपर्छ भनेर जानकारी पनि हुँदैन् । त्यसैले यसमा धेरै कीटाणु हुन्छन भनेर भन्ने गरिन्छ ।
यो साँचो हो की तपाईँको स्मार्टफोन तपाईँको घरमा भएको ट्वाइलेटको सीट भन्दा पनि फोहोर हुने गर्दछ । हालै गरिएको एक अनुसन्धानले तपाईँको स्मार्टफोनको स्क्रीनमा ट्वाइलेट सीट भन्दा ३ गुणा धेरै कीटाणु हुने पत्ता लगाएको छ ।
रिसर्चकाअनुसार करिब ३५ प्रतिशत मानिसहरुले आफ्नो स्मार्टफोनको स्क्रीन कहिलेपनि सफा नगरेको पाईएको छ । बेलायतको ग्याजेट इन्स्योरेन्स प्रोभाइडर कम्पनी इन्स्योरेन्स२गो ले गरेको रिसर्चअनुसार २० मध्ये केबल एक जनाले मात्र आफ्नो स्मार्टफोन ६ महिनामा एक पटक सफा गर्ने गर्दछ ।
अनुसन्धानको क्रममा स्मार्टफोनमा हुने कीटाणुहरुको बारेमा आइफोन सिक्स, सामसंग ग्यालेक्सी नोट ८, तथा गूगल पिक्सेल फोन प्रयोग गरिएको थियो ।
रिसर्चकाअनुसार सबै डिभाइसहरुको स्क्रीनमा कीटाणु रहेका थिए । स्मार्टफोनको स्क्रीनमा सबैभन्दा बढि कीटाणु हुने गरेको समेत अनुसन्धानमा पत्ता लागेको छ ।
तीन स्मार्टफोनहरुमा कुल अधिकतम २५४.९ यूनिट प्रति सेन्टिमिटरको दरमा कीटाणुहरु पाईएको थियो । परिक्षण गरिएका स्मार्टफोनहरुको स्क्रीनमा ट्वाइलेटको सीट र फ्लसभन्दा १० गुणा बढि फोहोर कीटाणु भेटिएको थियो । ट्वाइलेटको सीटमा २४ यूनिट र अफीसको कीबोर्डमा ५ यूनिट कीटाणु हुने गरेको छ ।
स्मार्टफोनको पछाडिको भागमा ३० यूनिट, लक बटनमा २३.८ यूनिट र होम बटनमा औषत १०.६ यूनिट कीटाणु भेटिएको थियो ।
यी कीटाणुहरुले मानिसको छालामा एलर्जी गर्ने र डाबरजस्ता चिलाउने रोग निम्याउने बताईएको छ ।
अधिकांश मानिसहरुले आफुसँग हरेक क्षण जस्तो स्मार्टफोन राख्ने गर्दछन । त्यस्तै रिसर्चकाअनुसार ४० प्रतिशत मानिसहरु बिहान उठ्ने बित्तिकै सबैभन्दा पहिले आफ्नो फोन प्रयोग गर्ने गर्दछ भने ३७ प्रतिशतले उठेको केहि समयपछि फोन प्रयोग गर्ने गर्दछन् ।
प्रकाशित: ३ भाद्र २०७५, आईतवार