
काठमाडौं ।
काठमाडौँ । नेपालमा पहिलो पटक सार्वजनिक यातायातमा इ-टिकेटिङ (e-ticketing) तथा स्मार्ट कार्ड सेवा प्रविधि नेपाल बैंकको सहकार्यमा एन क्लाउड प्रालिले भित्र्याएको छ।
यो प्रविधि हाललाई साझा यातायात तथा दिगो सार्वजनिक यातायातमा लागू हुने कम्पनीले जानकारी दिएको छ ।
दिगो सार्वजनिक यातायातमा भाडा तिर्दा दुई तरिकाबाट पैसा तिर्न सकिने छ। पहिलो तरिकामा सहचालकलाई पैसा दिएर वा सहचालकसँग भएको डिभाइसमा कार्ड ट्याप गरेर टिकट लिन सकिने छ। दोस्रो तरिकामा बसको ढोकामा राखिएको डिभाइसमा भाडा दर थिचेर कार्ड ट्याप गरेर पैसा तिर्न सकिन्छ। यसमा टिकट प्रिन्ट हुँदैन र यो केवल कार्ड भएको ग्राहकहरुले मात्र प्रयोग गर्न सक्नेछन्।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत दिपेन्द्र नारायण श्रेष्ठले सो कार्ड किन्नको लागि अतिरिक्त शुल्क तिर्नु नपर्ने बताए । ‘तपाईँले कार्डमा जति रकम राख्न चाहनुहुन्छ त्यति रकम तिरेर लिन सकिन्छ, कार्डको लागि थप शुल्क तिर्नुपर्दैन्,’ उनले भने।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठकाअनुसार सो कार्डमा एक पटकमा अधिकतम १ हजार रुपैयाँसम्म राख्न सकिनेछ र यात्राको दूरीअनुसार त्यसबाटै रकम कट्टा हुँदै जानेछ ।
यस प्रविधिमा क्यास टिकेट प्रिन्टिङ तथा स्मार्ट कार्ड दुवैको व्यवस्था गरिएको छ। निकट भविष्यमा स्मार्ट कार्डलाई अन्य क्षेत्र जस्तै पेट्रोल पम्प, पसल, पार्किङ, स्कूल तथा कलेजमा प्रयोग गर्न सकिनेछ।
स्मार्टकार्ड के हो ?
स्मार्टकार्ड एक प्रकारको कन्ट्याक्टलेस कार्ड हो जसबाट सजिलै भुक्तानी गर्न सकिन्छ। स्मार्ट कार्ड अन्तर्राष्ट्रिय स्तर अनुरुप पैसाको सट्टा अहिलेको प्रविधि अनुसार प्रयोग हुने कार्ड हो। यो कार्ड बसका सहचालकहरुसँग किन्न सकिनेछ । कार्डमा पैसा सकिएको अवस्थामा बसकै सहचालकहरुबाट रिचार्ज गर्न सकिनेछ।
कार्ड रिचार्ज गर्न र कार्डमा ब्यालेन्स हेर्न सहचालकले प्रयोग गरेको डिभाइसमात्र प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ।
प्रकाशित: १ भाद्र २०७५, शुक्रबार