Technology Khabar २६ श्रावण २०७५, शनिबार
काठमाडौं ।
काठमाडौं । सामाजिक संजाल फेसबुकले अब पेज एडमिनका लागि थप आधिकारिकता प्रमाणित गर्नुपर्ने प्रकृया ल्याउने भएको छ ।
योगकर्ताहरुको डाटा क्याम्ब्रिज एनालिटिकालाई बेचेको आरोपमा फसेको फेसबुकले पेज एडमिनहरुले थप प्रमाण दिनुपर्ने नयाँ फीचर थप गर्न लागेको हो ।
हाल यो नयाँ फीचर अमेरिकी प्रयोगकर्ताहरुले अधिक फलो गर्ने फेसबुक पेजका लागि मात्र लागू हुनेछ ।
अमेरिकामा अघिल्लो राष्ट्रपति चुनावलाई प्रभावित पारेको भन्दै फेसबुकको आलोचना भईरहेको बेला फेसबुकले आगामी दिनहरुमा हुने चुनावका लागि नयाँ फीचर ल्याउन लागेको हो । यहि नोभेम्बरदेखि अमेरिकामा कंग्रेसको विभिन्न चुनावहरु हुँदैछ ।
फेसबुकले शुक्रबार पेज एडमिनिस्ट्रेटरका लागि पेज पब्लिसिंग अर्थोराइजेसन (Page publishing authorization) प्रकृयामार्फत मात्र पेज संचालन गर्न सकिने भएको हो । यो प्रकृयामा पेज म्यानेजरहरुले उनीहरुको एकाउन्टलाई सुरक्षित पार्नुपर्नेछ भने उनीहरुले पेज संचालन गर्ने लोकेशन पनि प्रमाणित गर्नुपर्ने छ ।
फेसबुककाअनुसार यो प्रकृया केहि मिनेटमा नै गर्न सकिन्छ । यदि कुनै पेजले आधिकारिकता प्राप्त गर्न चाहन्छ भने पेज एडमिनले उनीहरुको न्यूज फीडको माथिल्लो भागमा नोटिस देखिने छ र त्यसअनुसार उनीहरुले प्रकृया शुरु गर्न सक्नेछन् । यदि उनीहरुले आधिकारिकता पेश गर्न सकेनन भने सो पेज पोष्ट हुने छैन् । यो प्रकृया यहि महिना शुरु हुने फेसबुकले जनाएको छ ।
फेसबुक पेज एडमिनले कुन देशबाट सो पेज संचालन र म्यानेज गरिरहेको छ सो पनि देखाउने छ भने म्यानेजरहरुको लोकेशन पनि दिनेछ ।
यो प्रकृया फेसबुकका साथै फेसबुकमातहतमा रहेको फोटो सेयररिंग साइट इन्टाग्राममा पनि लागू हुने बताईएको छ ।
केहि समयअघि फेसबुकले अमेरिकी चुनावको बारेमा गलत सूचना दिएको भन्दै ३२ पेजहरु र एकाउन्टलाई फेसबुकबाट हटाएको थियो ।
प्रकाशित: २६ श्रावण २०७५, शनिबार