Technology Khabar १ श्रावण २०७५, मंगलवार
काठमाडौं ।
काठमाडौं । सेयर कारोबार अब अनलाईनमार्फत गर्न सकिने भएको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से) ले मंगलबारदेखि पूर्ण स्वचालित अनलाइन प्रणालीको परीक्षण शुरु गरेको हो । नेप्सेकाअनुसार हाल ९ वटा ब्रोकर कम्पनीमार्फत अनलाइन प्रणालीको परीक्षण भएको छ।
साउन १ गतेदेखि हालको कारोबार प्रणाली (कम्प्युटराइज्ड ट्रेनिङ सिस्टम) र नयाँ प्रणाली (अनलाइन ट्रेडिङ सिस्टम) एकैसाथ संचालनमा आएका हुन्।
नयाँ अनलाइन प्रणालीमा शेयर लगानीकर्ताले मंगलबारदेखि नै सहभागिता जनाउन पाउने भएका हुन् । तर उनीहरुले हाल खरिद बिक्रीको अर्डर भने अनलाइनमा दिन सक्नेछैनन् ।
कारोबार गरिरहेको ब्रोकर कार्यालयबाट लगानीकर्ताहरुले यूजरनेम र पासवर्ड लिएर कारोबार हेर्न सक्छन, तर अहिले नै खरिद बिक्री गर्न पाईनेछैन्, नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले भने ।
अहिले परीक्षण काल भएको हुँदा उनीहरुलाई पनि क्रमशः अभ्यस्त बनाउने योजनाअनुसार अनलाईन प्रणाली आएको उनले बताए । यसको परीक्षण काल २ महिनाको लागि तोकिएको छ । त्यसपछि भने लगानीकर्ताले अनलाइनबाटै खरिद बिक्रीको अर्डर दिनसक्नेछन् ।
नेप्सेकाअनुसार पूर्वाधार तयार गरेका सदस्य ब्रोकरले क्लाउडड बेस्ड होस्टिंग गर्दै ट्रेड म्यानेजमेन्ट सिस्टम जडान गरी लगानीकर्तालाई समेत यसमा सहभागी गराउँदै लैजाने योजना राखेको छ ।
लगानीकर्ताहरुले यसअघि भरेको केवाईसीअनुसार नै यूजर नेम र पासवर्ड प्राप्त गर्नेछन भने उनीहरुको सो यूजर नेम र पासवर्डका लागि मोबाइल नम्बर र ईमेल आईडी प्रमाणित गर्नुपर्नेछ । लगानीकर्ताले कारोबार गर्ने ब्रोकरको नाम समेत सो प्रणालीमा ट्रयाक गर्न सकिनेछ ।
पूर्णरुपमा अनलाइन प्रणाली लागूभएपछि लगानीकर्ताले खरिद वा बिक्रीको आदेश दिँदा कम्पनीको नाम, सेयर संख्या, किन्न वा बेच्न चाहेको मूल्य राख्नुपर्नेछ । यसरी प्रविष्ट गरिएको विवरण अर्कोले राखेको बिवरणसँग म्याच भएपछि कारोबार सम्पन्न हुनेछ। कारोबार भइसकेपछि तुरुन्तै वा नेप्से बन्द भएपछि लगानीकर्ताले बिवरण हेर्न सक्नेछन्।
प्रवक्ता पराजुलीकाअनुसार सक्रिय लगानीकर्ताको रुपमा करिब ४ हजार रहेको हुँदा उनीहरुलाई अभ्यस्त बनाउन कठिन हुनेछैन् ।
यसअघि नै नेप्सेले औपचारिक रुपमा प्रयोगकर्ताको स्वीकारोक्ति (यूएटी) गर्न नयाँ कम्पनी छनौट गरिसकेको छ । सो कम्पनीले अनलाइन प्रणाली विकासका लागि यसअघि बोलपत्रमा उल्लेख गरिएका शर्त तथा सेवाहरु नयाँ प्रणालीमा भए नभएको परीक्षण तथा चेकजाँच गर्नेछ। सो कम्पनीको अनुमतिपछि मात्र अनलाइन प्रणाली पूर्णरुपमा संचालनमा आउनेछ ।
प्रकाशित: १ श्रावण २०७५, मंगलवार